बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबारे सरकारले करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरेको जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको जोखिमबारे दुई पटक एसएमएस पठाएर सर्वसाधारणलाई सचेत गराइएको थियो।

महाशाखाले गोरखाको चुमनुब्री गाउँपालिका-६, तुम्जेमा बुढीगण्डकी नदीको सहायक नदीतर्फबाट आएको बाढीको प्रारम्भिक जानकारी बिहान ६ बजे प्राप्त गरेको थियो। पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएकाले पहिरोले नदी थुनिएर फुट्दा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।

बिहान ६:३० बजे आरुघाटस्थित बाढी मापन केन्द्रमा जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। बिहान ७:५० बजे जलसतह ५.०१ मिटर पुगेपछि खतरा तह पार गरेको थियो। त्यसपछि जलसतह बढेर बिहान ८:३० बजे ६.२२ मिटर र ८:४० बजे ८.४३ मिटर पुगेको थियो। बाढीले पुलसहित मापन केन्द्र बगाएपछि थप विवरण प्राप्त हुन सकेन।

महाशाखाले जोखिमयुक्त बस्ती खाली गर्न, आवश्यकताअनुसार राजमार्ग तथा सडकमार्गमा आवागमन बन्द गर्न र मुग्लिङसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो। तनहुँ, चितवन र नवलपरासीका सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई पनि सावधानी अपनाउन आग्रह गरिएको थियो।

बिहान ९:२५ बजे पुनः एसएमएस पठाएर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म त्यहीँ रहन अनुरोध गरिएको महाशाखाले जनाएको छ।

बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा रहन, पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

नदीको बहाव घटे पनि जोखिम नटरेको महाशाखाले जनाएको छ।