“बडी सञ्चै हुनुहुन्छ ” म कोठामा प्रवेश गर्दै आवाज दिएँ।

“को नेत्र होस् ” बडीले आवाज ठम्याउनुभयो।

“हजुर बडी, म नेत्र हो।”

“माया मारिस् बाबै! आज कसरी बाटो बिराइस्?”

“आआफ्नो काम, आआफ्नो समस्या, भ्याइँदैन।”

“आज कसरी भ्याइस्?”

“दशैदेखि आउन नपाएकाले आज त बिदा लिएरै आएको।”

बडीछेउमा आएर बस्नुभयो। मेरो टाउकोमा हात राखेर निकैबेर मलाई सुम्सुम्याउनुभयो अनि भन्नुभयो, “कान्छा, माथ्लो फ्ल्याट पूरै खाली छ, भाडा तिर्नु पर्दैन केटाकेटी ल्याएर राखिदे।”

म विगतमा हराउन पुगेँ। बडीका दुवै छोरा, मेरा दाजुहरू सपरिवार अमेरिकामा बस्थे, उसैबेला देखिन। बडी एक्लै हुनुहुन्थ्यो घरमा। म पहाडबाट नयाँ दुलही लिएर पुगेको थिएँ बडीको यही घरमा।

काठमाडौं मलाई नौलो थियो। कुनै कामको ठेगान थिएन। मैले एउटा क‍ोठा भाडामा दिन अनुरोध गरेको थिएँ। बडीले त्यस बेला भनेको कुरा अझै बिझिरहेको थियो मनमा।

`तँ अनपढलाई कसरी राख्न सक्छु मेरा घरमा। मेरा सबै आफन्त पढेलेखेका छन्। प्रायः सबैको बसाइ र आवतजावत अमेरिकामै छ। जा बरु गोरु किन्ने पैसा लगाई दिन्छु पहाडमा गएर हलो जोत्नु।´

“किन टोलाएको कान्छा?” बडीले टाउकाको हात हटाउँदै भन्नुभयो।

मैले पनि भनेँ, “अब त मेरो आफ्नै घर छ त बडी।”