गोरखाको बूढीगण्डकी नदीमा आज बिहानदेखि तीन चरणमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तरगत बाढी पूर्वअनुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार दोस्रो बाढीले आरुघाटमा खतरा तह पार गरेको थियो। नदीको बहाव घट्ने र बढ्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको उनले बताएका छन्।

पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुमचेत क्षेत्रमा ठूलो बाढी उत्पन्न भएको हो। बाढीले माथिल्लो क्षेत्रमा क्षति पुर्‍याइसकेको छ भने तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ।

आरुघाटमा पहिलो बाढी बिहान करिब ६ः३० बजे आएको थियो। त्यसपछि बिहान ७ः५० बजे दोस्रो ठूलो बाढी आएको र त्यसले खतरा तह पार गरेको पराजुलीले बताए। दोस्रो बाढी घटेपछि फेरि तेस्रो बाढी देखिएको उनले जानकारी दिए।

‘अहिलेसम्मको अवस्था हेर्दा आरुघाटभन्दा तल्लो क्षेत्रमा ठूलो असर पर्ने देखिएको छैन। तर माथिल्लो क्षेत्रमा ठूलो क्षति भइसकेको अवस्था छ,’ पराजुलीले भने।

बाढीको कारणबारे अध्ययन हुँदै

बाढीको कारणबारे अध्ययन भइरहेको पराजुलीले बताए। प्रारम्भिक रूपमा मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट बाढी सुरु भएको देखिए पनि पहिरोले नदी थुनिएर बाढी आएको हो वा हिमाली क्षेत्रबाटै बाढी उत्पन्न भएको हो भन्नेबारे यकिन भइसकेको छैन।

उनका अनुसार बाढीको वास्तविक कारणबारे सम्भवतः केही घण्टाभित्र वा आज साँझसम्म तथ्य खुल्न सक्छ।

त्रिशूली दोभानसम्म उच्च सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान शाखाले बूढीगण्डकीदेखि त्रिशूली दोभानसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनारका घर छाडेर सुरक्षित उच्च स्थानमा जान र बूढीगण्डकी करिडोरका सडक प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।

विशेषगरी आरुघाट, तातोपानी, माछिखोला, आर्खेतलगायत बूढीगण्डकी नदी किनारका बजार तथा बस्तीमा बसोबास गर्ने नागरिकलाई नदी छेउका घरमा नबस्न पराजुलीले आग्रह गरेका छन्।

‘बाढी विभिन्न चरणमा आइरहेको छ। माथिबाट प्राप्त सूचनाअनुसार नदी बढ्ने र घट्ने क्रम जारी छ। अर्को स्पष्ट सूचना नआएसम्म आज साँझसम्म नै नदी किनारमा नजान र नदी करिडोरमा आवागमन नगर्न पुनः आग्रह गर्दछौँ,’ उनले भने।

बाढीको जोखिम कम नभएसम्म शाखाले निरन्तर सूचना अद्यावधिक गर्ने र माथिल्लो क्षेत्रका गाउँपालिकासँग नियमित सम्पर्कमा रहने उनले जानकारी दिए।