अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्।

काठमाण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

बोसिस्टोले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए। तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन्।

काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ।

तेत्तिस वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन्।

उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् २०१२ मा अस्ट्रेलियाको यु–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यु–१९ विश्वकप खेलेका थिए।

बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फस्र्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन्।

उनले फस्र्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दाबढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन्।