“छोरा अहिले त दँशैमा आउछस् नि? ” भिडियो कालमा दिनेशले उमेशलाई सोधे।

” हेर्छु बाबा विदा मिल्यो भने अवश्य आउँछु। “उमेशले आश्वासन दिँदै भन्यो।

“यो कान्छोले सधैँ यस्तै भन्छ! विदेशमा बसेपछि किन चाहियो यिनीहरूलाई चाडपर्व? जेठो उस्तै माइलो झन् कहिल्यै आएन, कान्छो पनि भौतिकवादी भन्छ आफैलाई।” नजिकै बसेकी भुर्की फतफताइन्। आमाको त्यो आवाजले उमेशको मुटुमा चसक्क भयो।

“तिमी पनि मलाई बोल्नै नदिएर बोल्छौ, पहिले उसको कुरा त सुन ऊ कस्तो अवस्थामा छ।” दिनेशले आफ्नी पत्निलाई चोर औँलाले चुप गराउँदै भने।

“बाबा! छोरा आएन भन्ने पिरले हो, आमा रिसाउनुभएको मैले छुट्टी मिलाउने प्रयास गर्छु। बरू एकपटक आमालाई दिनुस् फोन।” उमेशले आमासँग कुरा गर्ने जिज्ञासा राख्यो।

” लौ उमेशसँग अलिक राम्रो कुरा गर। ” दिनेश भुर्कीलाई मोबाइल थमाउँदै भने।

“आमा दर्शन् ” उताबाट सिर निहुराएर भन्यो।

“हो बाँचिरहेस् भाग्यमानी भएस् ” भुर्कीले छोरालाई आशीर्वाद दिइन्।

“आमा आज विज्ञानले हामीलाई कति नजिक पुराएको छ। प्रविधि नभैदिएको भए हामीले यसरी कुरा गर्न पाउने थिएनौ होइन र? ” उमेशले भन्यो।

“हो क्यारे हुन त तर हेरेर कुरा गरेर मात्रै हुन्छ र घरमा पनि आउनुपर्छ।” भुर्कीले सम्झाउँदै भनिन्।

“आमा अर्काको देशमा छौँ। उसैले जा नभन्दै आउन पाइँदैन। मेला पर्व त राष्ट्रका गहना हुन्छन्। अनि बाआमा जन्मदाता हामीले कसरी भुल्न सक्छौँ?

“खै लोकाचार त होला नि? आफूलाई भौतिकवादी भन्नेहरूको नेता भाको रहेछौ तिमी।” भुर्की भावुक हुँदै भनिन्।

“आमा भौतिकवादीहरूले चाड पर्व नमनाउँ, आमाबाबासँग भेट नगर भन्दैनन्। बरू अन्धविस्वासमा नफसौँ, पुग्नेभन्दा बढी खर्च नगरौँ मात्र भन्छन्। “उमेशले जानकारी गरायो।

“तैँले दँशैमा टीका लगाउँछस त? ” भुर्कीले निदार खुम्चाउँदै प्रश्न गरिन्।

“आमा अवश्य त्यो त मेरो आमाको स्नेहर र आशीर्वाद मिश्रृत अमूल्य उपहार हो‌, मेरा लागि। ” उमेशको कुराले भुर्कीका आँखा रसाए उनी भावुक भइन र फोन काटिन्।