अफ्रिकी राष्ट्र सेनेगल र मोरक्कोले जनवरीमा अराजक देखिने अफ्रिका कप अफ नेसन्सको फाइनल खेलेका थिए। यी दुई राष्ट्रले उपाधिका लागि फेरि बिहीबार प्रतिस्पर्धा गरे।

यसपटक त्यो प्रतिस्पर्धा खेलमैदानमा थिएन। स्विट्जरल्यान्डस्थित कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सिएएस) मा त्यसको प्रतिस्पर्धा भयो। तर मैदानजस्तो यसको नतिजा छिटै आउने छैन। सिएएसले केही दिनभित्रै यस विवादमा फैसला सुनाउने अपेक्षा गरिएको छ।

खेल सकिएपछि उत्पन्न विवाद, सेनेगलका समर्थक र मोरक्को प्रहरीबीच भएको हिंसात्मक झडप त्यो फाइनलको विशेष थियो। जुन विवाद अहिलेसम्म पनि जारी छ। फाइनल भएको करिब नौ महिनापछि खेलकुदको सर्वोच्च अदालतमा पुनः सुनुवाइ भइरहेको छ। मोरक्कोको राजधानी रबातमा रेफ्रीको अन्तिम सिटी बजेको लामो समयपछि यो मुद्दा स्विट्जरल्यान्डको लुसानस्थित सिएएससम्म पुगेको हो।

सेनेगलले उपाधि पुनः प्राप्त गर्न दायर गरेको अपिलमा कंगोका रेफ्री जिन जाक्वुज एनदालाको भूमिका निर्णायक हुन सक्ने देखिएको छ। रेफ्रीका रूपमा उनले गरेको निर्णय र खेल पुनः सुरु गराउने कदम नै विवादको मुख्य आधार बनेको छ। सेनेगलले अतिरिक्त समयमा १–० को जित निकाल्दै मैदानमा उपाधि जितेको थियो तर मार्चमा अफ्रिकी फुटबल महासंघ (सिएएफ) को अपिल प्यानलले उक्त नतिजा उल्टाउँदै मोरक्कोलाई ३–० को विजेता घोषणा गरेको थियो। मोरक्कोलाई पेनाल्टी दिइएपछि विरोधमा सेनेगलका खेलाडी मैदानबाट बाहिरिएर खेल १५ मिनेट रोकिएको भन्दै सिएएफले सेनेगललाई खेल परित्याग गरेको ठहर गरेको थियो।

सेनेगल र मोरक्कोका फुटबल महासंघका कानुनी प्रतिनिधि र अधिकारीहरूले बिहीबार सिएएसको मुख्यालयमा भएको एकदिने अपिल सुनुवाइअघि सञ्चारमाध्यमसँग कुराकानी गरेनन्। सुनुवाइ तीन न्यायाधीशको इजलासमा बन्द कोठामा भएको थियो। सिएएसका महानिर्देशक म्याथ्यु रिबले पत्रकारहरूलाई न्यायाधीशहरूले अन्तिम निर्णय केही दिनपछि दिने लक्ष्य राखेको बताए। त्यसपछि मात्र अफ्रिकी पुरुष फुटबलको च्याम्पियनको अन्तिम टुंगो लाग्नेछ। ‘फाइनल भएको केही महिनापछि पनि निर्णयको प्रतीक्षामा रहनु समर्थकका लागि सहजै होइन,’ रिबले भने, ‘पक्षहरूको सहमतिमा प्रक्रियागत समयतालिका तय गरिएको हो।’ अर्को अफ्रिका कप अफ नेसन्स आगामी जुनदेखि सुरु हुँदै छ।

केन्या, तान्जानिया र युगान्डाले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्दै छन्। सेनेगल र मोरक्कोका फुटबल महासंघका प्रमुखहरू बिहीबारको सुनुवाइमा उपस्थित नहुने अपेक्षा गरिएको थियो। उनीहरूको सुनुवाइ अफ्रिकी फुटबल महासंघले केप भर्डेमा आयोजना गरेको तीनदिने फुटबल सम्मेलनसँग जुधेको थियो।

उक्त सम्मेलनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सहभागी थिए। फुटबलको आधिकारिक नियम द लज अफ द गेमले रेफ्रीको निर्णय अधिकारबारे स्पष्ट व्यवस्था गरेको छ। ‘खेलसँग सम्बन्धित तथ्यका विषयमा रेफ्रीले गरेका निर्णय, गोल भयो वा भएन तथा खेलको नतिजासहित, अन्तिम हुन्छ,’ नियम ५.२ मा भनिएको छ।

रबातमा भएको फाइनलमा अराजक अवस्था सिर्जना भए पनि रेफ्री एनदालाको सन्तुष्टिअनुसार खेल पूरा भएको थियो। मोरक्कोलाई खेलको इन्ज्युरी समयमा पेनाल्टी दिइएपछि सेनेगलका खेलाडीले त्यसको विरोध गर्दै मैदान छाडेका थिए तर उनीहरू पुनः मैदानमा फर्किएपछि रेफ्रीले खेल सुरु गराएका थिए। खेल त्याग गर्ने निर्णय लिनुअघि सेनेगलका स्टार फरवार्ड साडियो मानेले आफ्ना सहकर्मीलाई खेल पूरा गर्न मनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। रंगशालाको वातावरण तनावपूर्ण बन्दै गएपछि मानेले खेलाडीहरूलाई मैदानमा फर्किन आग्रह गरेका थिए।

ब्राहिम डियाजको चर्चित ‘पानेन्का’ पेनाल्टी

खेल पुनः सुरु भएपछि मोरक्कोसँग उपाधि जित्ने सुनौलो अवसर थियो। पेनाल्टीमार्फत गोल गर्न सकेको भए मोरक्कोले सन् १९७६ पछि पहिलोपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने थियो।

रियल मड्रिडका फरवार्ड ब्राहिम डियाजले पेनाल्टीमा गरेको प्रहार फुटबल इतिहासकै चर्चित क्षणमध्ये एक बन्यो। डियाजले गोलकिपरलाई झुक्याउने उद्देश्यले निकै हल्का ‘पानेन्का’ प्रहार गरे। सामान्यतया गोलकिपरले बलको दिशा अनुमान गर्दै एकातिर डाइभ गर्ने अपेक्षा गरिन्छ तर बललाई बिस्तारै बीचबाट गोलतर्फ पठाउने डियाजको प्रयास असफल भयो।

सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डी भने सीधा उभिइरहे र सजिलै बल समाते। रंगशालाको भिआइपी क्षेत्रमा बसेका मोरक्कोका राजकुमार मौले रासिद उक्त दृश्यबाट स्तब्ध देखिएका थिए। उनी फिफा अध्यक्ष इन्फान्टिनोसँगै बसेर खेल हेरिरहेका थिए। पेनाल्टीमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो।

अतिरिक्त समय सुरु भएको चार मिनेटमै सेनेगलका मिडफिल्डर पापे गुएले अगाडि बढ्दै शक्तिशाली प्रहार गरे। उनको उठेको बल मोरक्कोको गोलमा छि¥यो। त्यही गोल खेलको निर्णायक बन्यो। सेनेगलले १–० को जितसँगै मैदानमा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो।

सिएएफका अनुशासन र अपिल निर्णय

फाइनल भएको ११ दिनपछि सिएएफले सेनेगल र मोरक्कोका फुटबल महासंघ, खेलाडी तथा सेनेगलका प्रशिक्षक पापे थियावमाथि कुल १० लाख डलरभन्दा बढी जरिवाना लगाएका थिए।

मोरक्कोले फाइनलको नतिजा रद्द गर्दै आफूलाई विजेता घोषणा गर्न गरेको माग भने अनुशासन न्यायाधीशहरूले अस्वीकार गरेका थिए। उनीहरूले सेनेगलका खेलाडी मैदानबाट बाहिरिएको घटनाका आधारमा तत्काल मोरक्कोलाई विजेता घोषणा गरेनन् तर त्यसपछि मोरक्कोले गरेको अपिल र त्यसपछि भएको प्रक्रियाले घटनालाई नयाँ मोड दियो। फाइनल भएको करिब दुई महिनापछि सिएएफको अपिल प्यानलले सेनेगललाई खेल परित्याग गरेको ठहर गर्दै खेलको नतिजा उल्टायो। त्यसपछि सेनेगललाई ३–० ले पराजित भएको घोषणा गर्दै मोरक्कोलाई विजेता बनाइएको थियो।

सिएएफको अपिल प्यानलले अफ्रिका कपको प्रतियोगिता नियमलाई आधार बनाएको थियो। नियमअनुसार, कुनै टोलीले रेफ्रीको अनुमति नलिई खेल्न अस्वीकार गरेमा वा खेल सकिनुअघि मैदान छाडेमा उक्त टोलीलाई खेलको पराजित मानिने र प्रतियोगिताबाटै हटाइने व्यवस्था छ।

अफ्रिका कप विवाद सरकारको तहसम्म

सेनेगल सरकारले उपाधि पुनः प्राप्त गर्न सबै उपयुक्त कानुनी बाटो अवलम्बन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। साथै, अफ्रिकी फुटबलमा भएको भनिएको भ्रष्टाचारको आशंकाबारे अनुसन्धान गर्न पनि माग गरिएको थियो। यस विवादले सिएएफ र फिफामा मोरक्कोको प्रभावबारे समेत बहस चर्काएको थियो।

सन् २०३० को विश्वकपको सहआयोजक मोरक्कोले अफ्रिकी फुटबलको सर्वोच्च निकाय सिएएफ तथा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफामा व्यापक प्रभाव राख्ने गरेको आरोपसमेत यस प्रकरणसँग जोडिएको थियो। फाइनलपछि रंगशालामा भएको हिंसात्मक घटनाले पनि विवादलाई थप गहिरो बनाएको थियो। सेनेगलका समर्थक र मोरक्को प्रहरीबिच भएको झडपमा केही समर्थक पक्राउ परेका थिए।

मे महिनामा मोरक्कोका राजा मोहम्मद छैटौंले रबातस्थित रंगशालामा भएको अव्यवस्थाका कारण जेल परेका १८ जना सेनेगली फुटबल समर्थकलाई माफी दिएका थिए। अब सबैको नजर स्विट्जरल्यान्डको लुसानमा रहेको सिएएसको निर्णयमा छ। सेनेगल मैदानमा जितेको उपाधि पुनः प्राप्त गर्ने आशामा छ भने मोरक्को सीएएफको निर्णयलाई कायम राख्दै आफ्नो नाममा उपाधि सुरक्षित हुने प्रतीक्षामा छ। सीएएसको फैसला आएपछि करिब नौ महिनादेखि जारी अफ्रिका कप अफ नेसन्सको सबैभन्दा विवादास्पद फाइनलको अन्तिम अध्याय टुंगिनेछ।