मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको हो। यस्तै, २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि (आइटी तथा आइसिटी) प्रयोगशाला विस्तार भएको छ।
विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार छ सय आठ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको मन्त्रालयले जनाएको छ। विद्यालयमा वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्युत् पहुँच पुगेको छ। मुलुकभर धार्मिक प्रकृतिका विद्यालयसमेत गरी ३५ हजार नौ सय ५१ विद्यालय सञ्चालनमा छन्। तीमध्ये २७ हजार १० सामुदायिक विद्यालय छन्।
विद्यालय पूर्वाधारतर्फ २०७२ को भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत सात हजार छ सय ६७ विद्यालयको निर्माण सम्पन्न भएको छ भने थप १४ विद्यालय निर्माणाधीन छन्।
पश्चिम नेपालमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये सरकार तथा विभिन्न विकास साझेदारको सहयोगमा दुई सय १६ विद्यालयको पुनर्निर्माण भइरहेका मन्त्रालयले जनाएको छ। दुई हजारभन्दा बढी विद्यार्थी भएका ३६ विद्यालयमा थप पूर्वाधार विकासअन्तर्गत १२ कोठे भवन निर्माण भइरहेका छन् ।

प्रतिक्रिया