आउँदै गरेको दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक तथा अवाञ्छित गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, यात्रुको सुरक्षित आवागमन तथा बजारमा हुने कालोबजारी र ठगी नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशका १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले तयार पारेको ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ असोज २५ गते घटस्थापनादेखि कात्तिक ३० गते छठ पर्व सम्पन्न नभएसम्म लागू हुनेछ।
योजनाअनुसार चाडपर्वको अवधिमा नागरिकको जनधन, धार्मिक तथा सांस्कृतिक आस्था, सम्पत्ति र उपभोक्ता अधिकारको संरक्षणसँगै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ।
सुरक्षा योजनाअनुसार कर्णाली प्रदेशभर १ हजार ४ सय ६२ वटा विभिन्न प्रकृतिका ड्युटीमा ५ हजार ३ सय १४ जना प्रहरी जनशक्ति परिचालन गरिनेछ।
आवश्यकताअनुसार रिजर्भ प्रहरी कार्यालयबाट थप प्रहरी टोलीसमेत परिचालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। प्रहरीले चाडपर्वका बेला हुने चोरी, लुटपाट, पाकेटमार, ठगी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि मोबाइल गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, लामो तथा छोटो दूरीका गस्ती र पिकेट परिचालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) सन्तोषसिहं राठौरले बताए।
योजनामा २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, १ सय ४८ वटा पैदल गस्ती, २ सय ४ वटा लामो तथा छोटो दूरीका गस्ती र १ सय ७६ वटा पिकेट परिचालन गर्ने उल्लेख छ।
त्यस्तै ६० वटा क्यूआरटीसमेत परिचालन गरिनेछ। सडक सुरक्षालाई विशेष प्राथमिकता दिँदै नियमित, विशेष तथा आकस्मिक चेकिङका साथै ट्राफिकसहितको संयुक्त चेकिङ सञ्चालन गरिनेछ।
योजनामा ६७ वटा नियमित, विशेष तथा आकस्मिक चेकिङ र ४७ वटा ट्राफिकसहितको संयुक्त चेकिङ राखिएको छ।
लामो दूरीका सवारीसाधनमा विशेष चेकिङ गरी तोकिएभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान राख्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने गतिविधि नियन्त्रण गरिने प्रहरीले जनाएको छ।
चाडपर्वमा घर फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको चाप बढ्ने भएकाले यात्रु सहायता कक्षसमेत सञ्चालन गरिनेछ। अन्तरदेशीय तथा अन्तरजिल्ला आवागमन हुने स्थानमा समेत हेल्प डेस्क राखिनेछ।
सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने तथा सामान वा झोला छुटेर हराएमा खोजतलासमा सहजीकरण गर्ने व्यवस्था योजनामा गरिएको छ।
बैंक तथा वित्तीय संस्था, सुनचाँदी तथा गरगहना पसल र अन्य आर्थिक कारोबार हुने स्थानको सुरक्षा पनि कडा पारिनेछ।
योजनाअनुसार यस्ता स्थान तथा बजार अनुगमनका लागि ३१ वटा ड्युटी परिचालन गरिनेछ। धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३८ वटा ड्युटी र महत्त्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि ३३ वटा ड्युटी परिचालन गरिनेछ। कालोबजारी नियन्त्रण तथा बजार अनुगमनका लागि छुट्टै ड्युटीसमेत परिचालन गरिएको छ।
त्यस्तै अवैध हातहतियार, पटका, आतशबाजी तथा विस्फोटक पदार्थको ओसारपसार र प्रयोगमा कडाइ गरिनेछ। अवैध लागूऔषधको ओसारपसार तथा बिक्री वितरण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण, जुवातास, डाइस, लङ्गुरबुर्जा, कौडा र अनलाइन सट्टेबाजीजस्ता गतिविधिमाथि पनि प्रहरीले निगरानी बढाउने जनाइएको छ।
सीमा नाका तथा राजमार्गमा समेत सुरक्षा निगरानी बढाइनेछ। चोरी तस्करी नियन्त्रण, राजमार्गमा हुने सम्भावित आपराधिक गतिविधि रोकथाम, आकस्मिक चेकिङ, सादा पोसाकका प्रहरी परिचालन तथा सिसिटिभी निगरानीलाई योजनामा समेटिएको छ।
धार्मिक तथा सामुदायिक सद्भाव कायम राख्न पनि विशेष निगरानी गरिनेछ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) सन्तोषसिंह राठौरले चाडपर्वलाई सुरक्षित, मर्यादित र भयमुक्त बनाउन सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।
उनका अनुसार नागरिकको सुरक्षा, सहज आवागमन र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालनलाई आवश्यकताअनुसार थपघट गर्दै सुरक्षा निगरानीलाई प्रभावकारी बनाइनेछ।

प्रतिक्रिया