पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्ष बन्ने व्यक्तिगत महत्वाकांक्षाका कारण तत्कालीन नेकपा (एमाले) जोगाउन गरिएको ऐतिहासिक १० बुँदे सहमति भाँडिएको बताएका छन्।

उनले आफू भारतको अस्पतालमा मृत्युसँग लडिरहेका बेला नेपालले ‘ओलीले कुनै पनि बुँदा मानेनन्’ भनी झुटो विवरण दिएर एमाले विभाजनको खाडलमा धकेलेको दाबी गरे।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले २०७८ सालमा भएको एमाले विभाजनको भित्री राजनीतिक खेलको विस्तृत पटाक्षेप गरेका हुन्।

सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएको र पार्टीभित्रको आन्तरिक विवाद मिलाउन १० बुँदे कार्यदल बनेको समयमा खनाल मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालमा भर्ना भएका थिए।

‘म त्यतिबेला मिर्गौला फेल भएर एपोलो अस्पतालको मृत्युशय्यामा पुगेको थिएँ,’ खनालले स्मरण गरे, ‘त्यही बेला कमरेड माधव नेपालले मलाई खबर पठाउनुभयो ‘केपीले १० बुँदेमध्ये एउटा कुरा पनि मानेन, केही पनि मिलेन। अब के गर्ने ? उसको टाङमुनि छिरेर जाने कि अलग हुने ?’

खनालका अनुसार उनले अस्पतालबाटै नेपाललाई हतारिएर अध्यादेशमार्फत पार्टी नफुटाउन सुझाव दिएका थिए। ‘मैले उहाँलाई भनेको थिएँ, त्यहाँ बस्न सक्दिनँ भनेर मात्र पार्टी विभाजन गर्दा कसैले मान्दैन। दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर २० प्रतिशतको भरमा पार्टी फुटाउनु गलत हुन्छ। यदि विद्रोह नै गर्ने हो भने दक्षिणपन्थी भड्कावविरुद्ध ठोस नीति, सिद्धान्त र क्रान्तिकारी कार्यदिशाका आधारमा मात्र गर्नुपर्छ।’

तर, पछि नेपालले ओलीविरुद्ध विद्रोहको नाम दिएर नयाँ पार्टी दर्ता गराए।

मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेर नेपाल फर्किएपछि मात्र आफूले सत्य तथ्य थाहा पाएको खनालले बताए।

‘काठमाडौं फर्किएपछि मैले कार्यदलमा रहेका १० भाइ नेताहरूलाई बोलाएर सोधेँ, के भएको थियो ?,’ खनालले भने, ‘उहाँहरूको कुरा सुन्दा त म छाँगाबाट खसेझैँ भएँ। त्यहाँ त आकाश/पाताल फरक परिस्थिति रहेछ। १० वटै बुँदामा सहमति भइसकेको रहेछ, पत्रकार सम्मेलनसमेत भइसकेको रहेछ।’

१० बुँदे सहमति भइसकेको अवस्थामा पार्टी किन फुटाइयो त ? खनालले थपे, ‘अन्तिममा माधव कमरेडले ‘मलाई पनि बराबरी हैसियतको अध्यक्ष चाहियो, मलाई अध्यक्ष नबनाई हुन्न’ भनेर अडान लिनुभएछ। उहाँलाई अध्यक्ष पद नदिएकै कारण त्यो सहमति लत्याएर पार्टी फुटाइएको रहेछ।’

‘एमाले छाड्नु मेरो जीवनकै ठूलो ब्लन्डर’

माधव नेपालले दिएको गलत सूचनाका पछि लाग्दा आफ्नो जीवनकै सबैभन्दा ठूलो राजनीतिक क्षति भएको खनालको स्वीकारोक्ति छ।

‘मलाई पूर्णतः मिसइन्फर्म गरियो। म बाँच्ने-नबाँच्ने दोसाँधमा भएका बेला खेल खेलियो,’ खनालले भने, ‘एमाले मैले रगत-पसिना बगाएर बनाएको पार्टी थियो। लामो समय मैले नै नेतृत्व गरेर पहिलो पार्टी बनाएको थिएँ। त्यस्तो पार्टी छाडेर हिँड्नु मेरो व्यक्तिगत र राजनीतिक जीवनकै सबैभन्दा ठूलो ब्लन्डर थियो।’

आफूलाई बचाउन अस्पतालमा छँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो मानवीय सहयोग गरेको स्मरण गर्दै उनले मानवीयता र राजनीतिलाई फरक ढङ्गले हेर्नुपर्ने बताए।

नेता खनालले कम्युनिस्ट आन्दोलनमा विचार र सिद्धान्तको कुरा गर्ने तर व्यवहारमा पद, कुर्सी र अहङ्कारका लागि जे पनि गर्ने घातक प्रवृत्ति हाबी भएको सुनाए।

‘माधव कमरेडको त्यो अध्यक्ष मोह र केपी कमरेडको दम्भ दुवै कम्युनिस्ट आन्दोलनका लागि हानिकारक थिए,’ खनालले भने, ‘पदकै लागि कार्यकर्ताको भविष्य र लाखौं जनताको विश्वासमाथि कुठाराघात गरियो। आज त्यसैको परिणाम सिङ्गो कम्युनिस्ट आन्दोलनले भोगिरहेको छ।