पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो चार दशकभन्दा लामो राजनीतिक जीवनमा नेकपा (एमाले) परित्याग गर्नु सबैभन्दा ठूलो ब्लन्डर भएको आत्मस्वीकारोक्ति गरेका छन्।

आफू भारतको अस्पतालमा जीवन र मरणको दोसाँधमा छटपटाइरहेका बेला गलत सूचनाका आधारमा सो आत्मघाती कदम चालिएको उनको भनाइ छ।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले आफ्नो रगत र पसिनाले सिञ्चित पार्टी छाड्नुपर्दाको पीडा र पश्चाताप खुलेर व्यक्त गरे।

वि.सं. २०७८ मा भएको एमाले विभाजनको समय स्मरण गर्दै खनालले आफू भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालको आइसियूमा रहेको बताए।

‘मेरो दुवै मिर्गौला फेल भएर म मृत्युशय्यामा थिएँ। शरीर अहिलेभन्दा तीन गुणा सुन्निएको थियो। मलाई अब नेपाल मेरो पार्थिव शरीर मात्रै फर्किन्छ होला भन्ने लागेको थियो,’ खनालले भने, ‘त्यस्तो गम्भीर र संवेदनशील अवस्थामा मलाई काठमाडौंबाट पार्टीभित्रका विषयमा पूर्णतः मिसइन्फर्म गरियो। ओलीले सबै ढोका बन्द गरे, अब विद्रोहको विकल्प छैन भनियो। म भ्रममा परेँ।’

तर, स्वास्थ्यलाभ गरी नेपाल फर्किएर कार्यदलका सदस्यहरूसँग बुझ्दा १० बुँदे सहमति भइसकेको तथ्य थाहा पाएपछि आफू स्तब्ध भएको उनले खुलाए।

‘मैले बनाएको पार्टीबाट म आफैं बाहिरिनु अक्षम्य भूल’

नेता खनालले एमाले अरू कसैको दयाले नभई आफ्नै नेतृत्व र हजारौं कार्यकर्ताको बलिदानले बनेको पार्टी भएको स्मरण गरे।

‘एमाले त मैले बनाएको पार्टी हो। २०३९ सालदेखि २०४६ सम्म मैले नै तत्कालीन मालेको नेतृत्व गरेँ। फेरि आठौं महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेर तेस्रो स्थानमा खुम्चिएको एमालेलाई पहिलो पार्टी बनाएँ,’ उनले भने, ‘त्यो पार्टीभित्र मेरो रगत, पसिना र जीवनको ऊर्जाशील समय जोडिएको छ। तर, परिस्थितिको गलत विश्लेषण र नेतृत्व तहको पदीय स्वार्थको घानमा परेर त्यही घर छाड्नु मेरो जीवनकै अक्षम्य ब्लन्डर बन्यो।’

राजनीतिक रूपमा तीव्र मतभेद रहे पनि आफ्नो जीवन रक्षाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिकाको खनालले उच्च प्रशंसा गरे।

‘म बिरामी भएर एपोलो अस्पतालमा छँदा मेरो जीवन रक्षाका लागि कमरेड केपी ओलीले महत्त्वपूर्ण मानवीय सहयोग गर्नुभएको थियो,’ खनालले भने, ‘त्यसका लागि म निको भएर फर्किएपछि उहाँलाई भेटेरै धन्यवाद दिएको थिएँ। राजनीति आफ्नो ठाउँमा छ, तर मानवीय संवेदनालाई अवमूल्यन गर्न सकिँदैन।’

आफूले एमाले छाडेर नयाँ दल निर्माणमा लाग्दा देशैभरका इमानदार कार्यकर्ताहरूको मन कुँडिएको उनले स्वीकार गरे।

‘हामीले पार्टी विभाजन गरेर हिँडेपछि आज कम्युनिस्ट आन्दोलन कहाँ पुग्यो ? हिजोका ठूला पार्टीहरू आज साना-साना समूहमा बदलिएका छन्। लाखौं कार्यकर्ता दिशाहीन बनेका छन्,’ उनले भने, ‘त्यसले कसैलाई फाइदा पुर्‍याएन, केवल दक्षिणपन्थी र विदेशी शक्तिलाई मात्रै बल पुर्‍यायो।’

जीवनको उत्तरार्धमा अब आफूलाई कुनै लाभको पद र कुर्सीको आकाङ्क्षा नरहेको बताउँदै खनालले विगतका गल्तीहरूबाट पाठ सिकेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई फेरि एउटै धरातलमा उभ्याउन पहल गर्ने बताए।

‘विगतमा कहाँ-कहाँ त्रुटि भए, त्यसको निर्मम समीक्षा हुनुपर्छ। म आफ्ना कमजोरी स्वीकार्न तयार छु,’ खनालले भने, ‘अब मेरो एउटै उद्देश्य छ, विभाजित सबै वामपन्थी शक्तिलाई नीति र सिद्धान्तको आधारमा पुनर्गठित गर्ने र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने।’