कपिलवस्तु अस्पतालमा एक वर्षमा एक लाख ६४ हजार १३९ जनाले उपचार सेवा लिएका छन्।

लुम्बिनी प्रदेशअन्तर्गत रहेको कपिलवस्तु अस्पतालमा विभिन्न चेकजाँच गर्न आएका बिरामीहरुले उपचार सेवा लिएका हुन्।

अस्पतालका मेडिकल रेकर्डर संजय कोइरीका अनुसार आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ असारसम्म बहिरंग, अन्तरंग, इमरजेन्सी, एक्सरे र भिडियो एक्सरे, ल्याब टेस्ट, आमा सुरक्षा गरी उक्त संख्यामा बिरामीहरुले उपचार सेवा लिएका छन्।

एक वर्षको अवधिमा ६९ हजार ५०२ जनाले बहिरंग, तीन हजार ९८८ जनाले अन्तरंग, २३ हजार ३३२ जनाले आकस्मिक उपचार सेवा लिएका थिए। यस्तै २७ हजार ७२२ जनाले एक्सरे र भिडियो एक्सरे, एक हजार ५६३ जनाले आमा सुरक्षाअन्तर्गत प्रसूति सेवा लिएका थिए।

प्रसूति सेवामध्ये चार सय जनाले सिएस (अपरेसनबाट बच्चा जन्माउने सेवा) लिएको रेकर्डर कोइरीले बताए। यस्तै बिलअनुसार ४३ हजार बढीले स्वास्थ्य बिमाबाट सेवा लिएका छन्। यसैगरी आठ मिर्गौला रोगीले सेवा लिइरहेका छन्।

२०३० सालअघि स्थापना भएको अस्पतालमा १० वर्षअघि नयाँ भवन निर्माण भई व्यवस्थितरुपमा उपचार सेवा जारी छ। ५० बेडको अस्पतालमा चार जना विशेषज्ञसहित १५ जना डाक्टरमार्फत उपचार सेवा दिँदै आएको अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडोले बताए।

लुम्बिनी प्रदेशअन्तर्गत रहेको अस्पताल सेवा प्रभावमा उत्कृष्ट स्थानमा रहँदै आए पनि दरबन्दीअनुसार डाक्टर र कर्मचारी नहुँदा उपचार सेवामा कठिनाइ भएको उनले बताए।

अस्पतालमा पहिले ७४ जनाको दरबन्दी थियो। अहिले अस्थायीसहित ४१ जना मात्र दरबन्दी छ। अस्पतालमा डेढ सय बढी कर्मचारी कार्यरत रहे पनि अधिकांश ज्यालादारी र करारका कर्मचारी छन्।

स्त्रीरोग, साइकाटिस लगायतका डाक्टर नहुँदा उपचारमा समस्या आएको अस्पतालका डाक्टरहरु बताउँछन्। स्त्रीरोगको डाक्टर नहुँदा अस्पतालमा प्रसूति सेवा लिनेको संख्या समेत घटेको छ। अस्पतालमा आईसियुको सेवा समेत छ। दरबन्दीअनुसारको डाक्टर नहुँदा समस्या झेल्नु परेको अस्पताल प्रशासनको भनाइ छ।

‘अस्पतालमा अझै प्रभावकारी सेवा दिन चाहेका छौँ, दरबन्दी अभाव र आर्थिक कमीले गर्दा कठिनाइको सामना गर्नु परेको छ,’ उनले भने।

अस्पताललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताए। अस्पतालमा सरसफाइ, बिरामी र कुरुवालाई बस्ने व्यवस्था, शौचालय, खानेपानी, खाजाघर लगायतमा समेत अस्पताल प्रशासनले ध्यान दिनुपर्ने सेवाग्राही बताउँछन्।