नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले बुधबार भक्तपुरमा गरेको ‘अति कम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’मा सहभागीले नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि अन्तर्राष्ट्रिय व्यापारमा प्राप्त हुँदै आएका सुविधा क्रमशः हट्न सक्ने भएकाले यसमा विशेष जोड दिनुपर्ने बताएका हुन्। स्तरोन्नतिपछिको अवस्थाका लागि सरकार र निजी क्षेत्रबिच प्रभावकारी सहकार्यसहित अहिलेबाटै तयारी थाल्नुपर्ने बताउँदै उनीहरूले त्यसबाट उत्पन्न चुनौती सामना गर्न सबै एक हुनुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष प्रेमहरि मैनालीले एलडीसी स्तरोन्नति केही समय पर सर्न सक्ने भए पनि त्यसपछिको अवस्थाका लागि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताए। विगतमा प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उनले अब उपलब्ध समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।
स्तरोन्नतिपछि अन्तर्राष्ट्रिय व्यापारमा पाइँदै आएका विभिन्न सुविधा क्रमशः हट्दै जाने भएकाले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता उत्पादन लागत, गुणस्तर र दक्षतामा निर्भर रहने उनको भनाइ थियो। उनले निजी क्षेत्रलाई सुविधा आधारित प्रतिस्पर्धाबाट क्षमता आधारित प्रतिस्पर्धातर्फ अघि बढ्दै प्रविधि, गुणस्तर, मूल्य शृंखला र बजार विविधीकरणमा लगानी बढाउन आग्रह गरे। एलडीसी स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहका उद्योग-व्यवसायसम्म पुग्ने भएकाले निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउन आवश्यक रहेको उनले बताए। उनले सरकार, निजी क्षेत्र र विकास साझेदारबिचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।
कार्यशालामा परामर्शदाता भोजराज पोखरेलले एलडीसी स्तरोन्नतिपछिका अवसर तथा चुनौतीबारे प्रस्तुति दिँदै उत्पादन क्षमता, गुणस्तर सुधार, बजार विविधीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए। परियोजना प्रमुख रोशन नेपालले समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण र साना तथा मझौला उद्यमको क्षमता विकासका क्षेत्रमा परियोजनाले गरिरहेको कामबारे जानकारी दिए।
भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरलगायतले नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड दिए। महासंघका अनुसार विराटनगर, वीरेन्द्रनगर, धनगढी, काठमाडौंमा यसबारे छलफल आयोजना गरिसकेको छ। चौथो सचेतना कार्यशाला अन्तर्गत बुधबार भक्तपुरमा कार्यक्रम भएको हो। कार्यशालामा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यमी, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया