अमेरिकाको टेनेसीमा मृत्युदण्ड दिने प्रयास असफल भएपछि कैदी क्रिस्टा पाइक होसमा आएकी छन्। उनका वकिलका अनुसार ५० वर्षीया पाइक अहिले सचेत अवस्थामा छिन् र सामान्य रूपमा कुराकानी गर्न सक्ने भएकी छन्।

गत सेप्टेम्बर ३० मा उनलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिने प्रयास गरिएको थियो। दुईपटक औषधि दिइए पनि उनको मृत्यु नभएपछि उनलाई अस्पताल लगिएको थियो। केही दिनसम्म अचेत रहेकी पाइकलाई अहिले भेन्टिलेटरबाट समेत हटाइएको छ।

पाइकलाई सन् १९९५ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्यमा सुधार देखिए पनि पूर्ण रूपमा निको हुने अवस्था अझै स्पष्ट नभएको बताएका छन्।

पाइकका वकिलहरूले उनको मृत्युदण्डको सजायलाई बिना प्यारोल आजीवन कारावासमा परिवर्तन गर्न माग गरेका छन्। घटनापछि टेनेसीका गभर्नरले यस वर्षका बाँकी सबै मृत्युदण्ड स्थगित गरेका छन्। बीबीसी