नेपाली चलचित्रका लागि दसैंलाई ‘प्राइम टाइम’ मानिन्छ। यही कारण यसपटक पनि दसैंको छेकोमा ठूला स्टार र सफल फिल्मका सिक्वेलबीच प्रतिस्पर्धा हुने भएको छ। अभिनेता पल शाहको ‘आ बाट आमा २’ देखि ‘१२ गाउँ २’, ‘छ माया छप्पक्कै २’ र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’सम्मका चलचित्र प्रदर्शनमा आउँदैछन्। एकातिर पारिवारिक तथा भावनात्मक कथाले दर्शकलाई हलसम्म तान्ने प्रयास गर्नेछ भने अर्कोतिर एक्सनप्रधान चलचित्रले माहोल तताउने तयारी गरेको छ।

अन्ततः पलको उक्त इच्छा यस वर्षको दसैंमा पूरा हुने भएको छ। उनी अभिनीत ‘आमा’को सिक्वेल ‘आमा २’ घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने भएको हो। तर, दसैंको छेकोमा पलको चलचित्रमात्र होइन, बक्स अफिसमा सफल भएका अन्य चार चलचित्रका सिक्वेलसमेत प्रदर्शनमा आउने तयारीमा छन्।

एक्सनसँगै आँसुको प्रतिस्पर्धा

यो दसैंमा नेपाली सिनेमा हलमा एक्सनसँगै आँसुको पनि प्रतिस्पर्धा हुने देखिएको छ। गत वर्ष प्रदर्शनमा आएको ‘आमा’को सिक्वेलका रूपमा ‘आमा २’ दर्शकमाझ आउँदैछ। पहिलो भाग हेरेर दर्शकहरू सिनेमा हलबाट रुँदै बाहिरिएका भिडियोहरू अझै पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ।

चलचित्रको कथावस्तु आमा–छोराबीचको भावनात्मक सम्बन्धवरिपरि केन्द्रित छ। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा पल शाह, मल्लिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको अभिनय रहेको छ।

सोही दिन अभिनेता बिराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’ पनि प्रदर्शनमा आउने भएको छ। पछिल्लो समय एक्सन हिरोका रूपमा पहिचान बनाएका अभिनेता समीर भट्ट यस चलचित्रमा मुख्य भूमिकामा छन्।

‘१२ गाउँ २’ अघिल्लो श्रृंखला ‘१२ गाउँ’कै निरन्तरताका रूपमा आएको हो। एक्सन ड्रामामा आधारित चलचित्रमा समीरको एक्सनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। आँसुको दबदबा देखिएको नेपाली सिने क्षेत्रमा अब एक्सनप्रधान चलचित्रलाई दर्शकले कत्तिको रुचाउने हुन्, त्यो भने हेर्न बाँकी छ।

चलचित्रमा बिराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाह, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतको अभिनय रहेको छ। कृशु शाही (काफिया) र वर्षा इटनीले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

यसैबीच, घटस्थापनाको भोलिपल्ट शनिबारदेखि दीपकराज गिरी र दीपाश्री निरौलाको संयुक्त निर्माण रहेको चलचित्र ‘छ माया छप्पक्कै २’ पनि प्रदर्शनमा आउने भएको छ। चलचित्रमा दीपकराज गिरीसँगै केकी अधिकारी, सनिशा भट्टराई, निर्मल शर्मालगायतका कलाकारको अभिनय रहेको छ।

सिक्वेलको सूचीमा चौथो नम्बरमा रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ रहेको छ। चलचित्र कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

यसमा दयाहाङ राई मुख्य भूमिकामा छन् भने अभिनेता विपिन कार्कीको ‘सरप्राइज’ प्रवेश रहेको छ। रामबाबुले यसपटक ‘कबड्डी’ श्रृंखलालाई काजी पात्रको विवाहपछिको व्यावहारिक जीवनमा केन्द्रित गर्ने बताएका छन्।

चलचित्रमा दयाहाङ राई, विजय बराल र बुद्धि तामाङको सदाबहार त्रयीसँगै विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ र कविता आलेलगायतको मुख्य भूमिका रहेको छ।