असोज ११ गते नारायणी नदीको बाढीले बगाएर पुलको पिलरमा ठोक्किएको १५ करोड रुपैयाँ लगानीको ‘राइनो क्रुज’ नौ दिन बितिसक्दा पनि बाहिर निकाल्न सकिएको छैन। तीन वटा क्रेन प्रयोग गरेर पिलरबाट अलग गरिए पनि क्रुजको ३३ प्रतिशत भाग अझै पानीमुनि डुबेको छ।
जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय चितवन र गैंडाकोट नगरपालिकाको संयुक्त प्रयासमा क्रुजलाई पिलरबाट तानेर भित्तातर्फ अड्याइएको छ। क्रुजका मुख्य इन्जिनहरू पानीमा डुबेका कारण तत्काल नदीबाट पूर्ण रूपमा बाहिर निकाल्न नसकिएको हो।
राइनो वाटर इन्टरटेनमेन्टका अध्यक्ष दीपक ढुङ्गेलका अनुसार अहिले क्रुजका कारण पुललाई कुनै जोखिम छैन। तत्कालका लागि टुचिन र एङ्कर गाडेर क्रुजलाई नदी किनारको भित्तामा सुरक्षित अड्याइएको र नदीको बहाव घटेपछि बाटो बनाएर अन्य भारी उपकरणको सहायताले बाहिर तान्ने योजना छ।
बाढीले ३०० मिटर टाढा बगाएर पुलको पिलरमा ठोक्काएपछि क्रुज सञ्चालन गर्नै नसकिने गरी क्षतिग्रस्त भएको छ। ३० जना व्यवसायीको १५ करोड लगानीमा निर्मित क्रुजमा १० करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष नोक्सानी भएको अध्यक्ष ढुङ्गेलले जानकारी दिए।
नेपालमा जल यातायातसम्बन्धी नीति र क्रुज बिमाको व्यवस्था नहुँदा बिमा प्राधिकरणबाट बिमा गराउन नसकिएको र विपद्का कारण सम्पूर्ण निजी लगानी डुब्ने अवस्थामा पुगेको ढुङ्गेलको भनाइ छ।
सरकारको पर्यटकीय गौरवको आयोजना भएकाले यसलाई पुनः सञ्चालन गर्न सरकारी राहत आवश्यक रहेको भन्दै कम्पनीले गृह र पर्यटन मन्त्रालयमा औपचारिक जानकारी गराएको छ।
सुरुमा भरतपुरको काभ्रेघाटबाट चलाइएको उक्त क्रुज पछि असहज भएपछि नवलपरासीको गैँडाकोट सारेर सञ्चालन गरिँदै आएको थियो। वर्षायामका कारण गत असारदेखि सेवा रोकेर नदी किनारमा राखिएको क्रुजलाई असोज ११ को बाढीले बगाएको थियो।
पर्यटन विभागबाट देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्राको अनुमति पाएको यो क्रुज ९५ फिट लामो, २१ फिट चौडा र साढे दुई तलाको थियो।
एकैपटक १५० जना यात्रुलाई सेवा दिने क्षमता भएको क्रुजमा खाना-खाजाका साथै विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता पारिवारिक तथा सामाजिक उत्सवहरू आयोजना हुने गर्दथे।

प्रतिक्रिया