चितवनको कालिका नगरपालिका-५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो गाडी आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब १:३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट बनकट्टातर्फ गइरहेको बा.प्र.३-०१-०२४ च ३४७३ नम्बरको बलेरो गाडी आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएकी कालिका नगरपालिका-३ बस्ने ३५ वर्षीया लक्ष्मी परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा दिउँसो २:३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बलेरोमा सवार १० जना घाइते भएका छन्। घाइते हुनेहरूमा कालिका नगरपालिका-३ का ५२ वर्षीया सावित्री माझी, २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा वि.क., ४२ वर्षीया लाल कुमारी गुम्बा, ३५ वर्षीया सितामाया श्रेष्ठ र कालिका नगरपालिका-७ बस्ने २६ वर्षीया उमा श्रेष्ठ रहेका छन्।

यस्तै, दुर्घटनामा बलेरो चालक कालिका नगरपालिका-३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि घाइते भएका छन्। सबै घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको छ।

दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। ट्याक्टर चालक कालिका नगरपालिका-१ का ४२ वर्षीय बिके श्याङ्वोलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते बलेरो चालकको अस्पतालमा प्रहरी निगरानीमै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।