ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोले पहिलो चरणमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भालाई पछि पारेका छन्। तर आवश्यक बहुमत नपुगेपछि अब दुवैबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ।
लगभग सबै मतगणना सकिँदा फ्लाभियोले ४७ प्रतिशत मत प्राप्त गरेका छन् भने लुलाको पक्षमा ४५ प्रतिशत मत परेको छ। निर्वाचनअघि भएका सर्वेक्षणहरूमा लुला केही अगाडि देखिएका थिए। त्यसको तुलनामा फ्लाभियोको पहिलो चरणको प्रदर्शन अपेक्षाभन्दा बलियो मानिएको छ।
दोस्रो चरणमा पुग्न सफल फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुन्। जायर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा पराजित भएपछि असफल सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन्। निर्वाचनमा उम्मेदवार बन्न रोक लगाइएका जायरले आफ्ना छोरा फ्लाभियोलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रूपमा अघि सारेका थिए।
पहिलो चरणमा फ्लाभियोले प्राप्त गरेको मतसँगै उनको पार्टी लिबरल पार्टीले पनि बलियो प्रदर्शन गरेको छ। अहिलेसम्मको परिणामअनुसार उक्त पार्टीबाट अन्य दलको तुलनामा धेरै गभर्नर, सिनेटर र संघीय प्रतिनिधि निर्वाचित भएका छन्। यसले आगामी संसदमा पार्टीको प्रभाव बढ्ने अपेक्षा गरिएको छ।
पहिलो चरणको नतिजापछि फ्लाभियोले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। उनले तीन सातापछि हुने दोस्रो चरणमा ब्राजिलका जनताले नयाँ तथा आधुनिक सरकार रोज्ने विश्वास व्यक्त गरेका छन्।
उता लुलाले पहिलो चरणको परिणाम आफूले अपेक्षा गरेभन्दा फरक आएको स्वीकार गरेका छन्। आफू पहिलो चरणमै विजयी हुने विश्वासमा रहेको बताउँदै उनले चुनावी प्रतिस्पर्धा अझै बाँकी रहेको र अब वास्तविक प्रतिस्पर्धा सुरु भएको प्रतिक्रिया दिएका छन्।
८० वर्षीय लुला चौथो कार्यकालका लागि चुनावी मैदानमा छन्। उनी यसअघि सन् २००२, २००६ र २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। सन् २०२२ को निर्वाचनमा उनले जायर बोल्सोनारोलाई दुई प्रतिशतभन्दा कम मतान्तरले पराजित गरेका थिए, जुन ब्राजिलको राष्ट्रपतीय निर्वाचन इतिहासकै सबैभन्दा कडा प्रतिस्पर्धामध्ये एक थियो।
पहिलो चरणको मतदानमा ब्राजिलमा अपराध, अर्थतन्त्र, भ्रष्टाचार र राष्ट्रिय सार्वभौमिकताजस्ता विषय प्रमुख चुनावी मुद्दा बने। लुलाको समर्थन देशको गरिब उत्तरपूर्वी क्षेत्रमा, न्यून आय भएका मतदाता, क्याथोलिक तथा महिलामाझ तुलनात्मक रूपमा बलियो देखिन्छ भने फ्लाभियोको प्रभाव दक्षिणी क्षेत्र, उच्च आय भएका मतदाता तथा इभान्जेलिकल क्रिस्चियन समुदायमा बढी रहेको बताइएको छ।
लुलाले मतदानपछि चुनावलाई लोकतन्त्र र ‘अराजकता’बीचको छनोटका रूपमा प्रस्तुत गरेका थिए। अर्कोतर्फ, फ्लाभियोले आफूले ब्राजिलका जनतालाई ‘मुक्त’ गर्न चाहेको बताएका छन्।
सन् २०२३ जनवरी ८ मा जायर बोल्सोनारोका समर्थकहरूले सरकारी भवनमा तोडफोड गरेका थिए। फ्लाभियोले निर्वाचित भए आफ्ना बुबा तथा उक्त घटनामा संलग्न समर्थकहरूलाई आममाफी दिने प्रतिबद्धता समेत जनाएका छन्।
यसैबीच, जायर बोल्सोनारोकी पत्नी मिशेल बोल्सोनारो आइतबारको निर्वाचनबाट सिनेटमा निर्वाचित भएकी छन्।
ल्याटिन अमेरिकाका धेरै देशमा पछिल्लो समय दक्षिणपन्थी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग नजिक रहेका राजनीतिक शक्तिहरू सत्तामा पुगेका छन्। अब ब्राजिलको दोस्रो चरणको निर्वाचनले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश तथा अर्थतन्त्र पनि त्यही राजनीतिक दिशातर्फ जाने वा नजाने भन्ने निर्धारण गर्नेछ।
(बीबीसीको सहयोगमा)

प्रतिक्रिया