नेपाली कांग्रेसका सभापति गगन थापाले संसद्, समुदाय, डिजिटल स्पेस र राजनीतिक दलभित्रै पनि खुलामञ्च आवश्यक रहेको बताएका छन्।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति नभएसम्म संसद् वास्तविक अर्थमा खुला हुन नसक्ने टिप्पणी गरे।

करिब एक दशकपछि खुलामञ्चमा राजनीतिक सभा सम्भव भएको उल्लेख गर्दै सभापति थापाले मुलुकका विभिन्न क्षेत्र अझै पनि खुला हुन नसकेको बताए।

‘पहिलो खुलामञ्च संसद् भित्र चाहिएको छ। संसद् खुला छैन, बन्द छ,’ थापाले भने, ‘जुन सांसदले प्रधानमन्त्री बनाए, आफूलाई बनाउने र नबनाउने सांसदका अगाडि संसद्को गरिमा, व्यवस्था र जनताको सम्मानका लागि प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति रहँदैन भने त्यो दिनसम्म संसद् खुला भएको मानिँदैन।’

दलहरूभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको बताउँदै उनले राजनीतिक पार्टीहरूभित्रै प्रश्न गर्न पाउने खुला वातावरणको खाँचो औंल्याए। ‘आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुलामञ्च पार्टीभित्र पनि चाहिएको छ,’ उनले भने।

समुदाय र पुस्ताबीच प्रत्यक्ष संवाद हुनुपर्नेमा जोड दिँदै उनले पहाडले मधेसका बारेमा कुरा गर्नुको सट्टा मधेससँगै प्रत्यक्ष संवाद गर्नुपर्ने बताए।

एउटा जात, धर्म र पुस्ताले अर्कोमाथि फैसला सुनाउनुभन्दा आपसमा खुला संवाद गर्ने थलो आवश्यक रहेको उनको भनाइ थियो। साथै, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा केवल गालीगलौज र प्रतिक्रिया मात्र नभई तथ्य र तर्क टिक्न सक्ने मञ्च बन्नुपर्ने उनले बताए।

खुलामञ्चलाई नेपालको राजनीतिक स्मृतिको सार्वजनिक अभिलेखका रूपमा व्याख्या गर्दै थापाले बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाका ऐतिहासिक संकल्पहरू यही थलोसँग जोडिएको स्मरण गरे।

वि.सं. २०४७ मा गणेशमान सिंहले यहीँबाट जनताले दिएको अधिकारको सम्मान गर्न नसके जनताले नै डाँडा कटाइदिन्छन् भनी दिएको चेतावनी स्मरण गराउँदै सभापति थापाले कांग्रेसको योगदानबिना नेपालको इतिहास अधुरो रहने दाबी गरे।

उनले सिङ्गो देशलाई डर, त्रास र बेचैनीबाट बाहिर निकालेर खुला बनाउने संकल्पसहित कांग्रेस महाधिवेशनमा होमिएको बताए।