नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सडक आन्दोलन र निर्वाचनमा नेकपा एमाले तथा नेकपा मसालसँग मिलेर जाने उद्घोष गरेका छन्।

काभ्रे जिल्लाको पार्टी एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विचार मिल्ने कम्युनिस्ट शक्तिहरूसँग पार्टी एकता गरेरै अघि बढ्ने निर्णय भएको जानकारी दिएका हुन्।

केन्द्रीय कार्यसंयोजन समितिको सर्वसम्मत निर्णयलाई कार्यान्वयन गर्न एमाले र मसालसँग कार्यगत एकता सुरु भइसकेको उनले जानकारी दिए।

यही सहमतिका आधारमा आवश्यकताअनुसार सातै प्रदेशका सरकारमा आफ्नो पार्टी सहभागी भएको प्रचण्डको भनाइ थियो।

‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस-छलफल तथा स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ,’ बैठकमा उनले भने।

साथै, संयोजक प्रचण्डले पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणमा पनि जोड दिएका छन्। पार्टीको आगामी महाधिवेशनले सङ्गठनलाई थप चुस्त र ऊर्जावान् बनाउनुका साथै नेतृत्वमा युवाहरूको सहभागिता पूर्ण रूपमा सुनिश्चित गर्ने उनले दाबी गरे।