कोलकातास्थित साल्ट लेक स्टेडियममा शनिबार साँझबाट जारी फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा विश्वविजेता ब्राजिलले घरेलु टोली भारतविरुद्ध सुरुवाती अग्रता लिएको छ।
खेलको २८औं मिनेटमा एस्टेभाओले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका हुन्।
भारतीय मिडफिल्डर अनिरुद्ध थापाले प्रहार गरेको कर्नर किकलाई ब्राजिलियन गोलकिपर पेड्रो मोरिस्कोले क्लियर गरेलगत्तै काउन्टरमा ब्राजिलले गोल निकालेको हो।
दायाँ भागबाट बल अगाडि बढाएका एस्टेभाओले भारतीय डिफेन्डरहरूलाई छलाउँदै बायाँ खुट्टाले गरेको प्रहारलाई भारतीय कप्तान तथा गोलकिपर गुरप्रित सिंह सन्धुले रोक्न नसक्दा बलले जाली चुमेको थियो।
यसअघि खेलको सुरुवाती समयमा भारतले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको थियो। खेलको नवौं मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले भारतीय डिफेन्डर अभिषेकलाई छलाउँदै गरेको उत्कृष्ट प्रहारलाई गोलकिपर गुरप्रितले शानदार रूपमा बचाउ गर्दै भारतको संकट टारेका थिए।
त्यस्तै, खेलको २२औं मिनेटमा भारतका फरवार्ड मनवीर सिंहले पेनाल्टी बक्सभित्र बल पाउँदा सुनौलो अवसर सिर्जना भएको थियो। तर उनी बल नियन्त्रण गर्नबाट चुक्दा भारतले अग्रता लिने मौका गुमाएको थियो।
शनिबार साँझ जारी यस ऐतिहासिक खेलमा ब्राजिल रियल मड्रिडका स्टार भिनिसियस जुनियर, पिएसजीका मार्किन्होस, एस्टेभाओ र पेड्रोजस्ता विश्वस्तरीय खेलाडीसहित मैदानमा उत्रिएको छ। ब्राजिलको कप्तानी डिफेन्डर मार्किन्होसले गरिरहेका छन् भने भारतको नेतृत्व अनुभवी गोलकिपर गुरप्रितले सम्हालेका छन्।
फिफा विन्डो अन्तर्गत यसअघि अष्ट्रेलियासँग भएका दुई मैत्रीपूर्ण खेलमा ब्राजिलले एउटामा ४-२ को जित र अर्कोमा १-१ को बराबरी खेलेको थियो। यता भारतले पनि पानामासँगको आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेको थियो।

प्रतिक्रिया