अमेरिकाको टेक्ससमा छोरीको हिरासतसम्बन्धी अदालतको फैसला भएको केही घण्टामै एक महिलाले आफ्नी चार वर्षीया छोरीलाई गोली हानेर हत्या गरेकी छन्।

त्यसपछि आफैँमाथि पनि गोली चलाएकी उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ह्युस्टन प्रहरीका अनुसार ब्राजिलियन मूलकी ३५ वर्षीया सिबेल सावेलाले छोरी भिभियनलाई गोली हानेकी थिइन्, जसको घटनास्थलमै मृत्यु भएको थियो।

घटना भएको दिन बुधबार (स्थानीय समयअनुसार मंगलबार) अदालतले छोरीको प्राथमिक हेरचाह गर्ने अधिकार उनका बुबा आरोन सावेलालाई दिएको थियो। त्यसपछि भिभियनलाई सोही साँझ बुबाकहाँ लैजानुपर्ने थियो।

ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट ल्यारी क्रोसनले भने, ‘आज (बुधबार) यसअघि हिरासतसम्बन्धी सुनुवाइ भएको थियो, जुन आमाका लागि राम्रो भएन। उनी घर आइन्, आफ्नी चार वर्षीया छोरीलाई गोली हानिन् र त्यसपछि आफैँलाई पनि गोली हानिन्।’

अदालतको आदेशअनुसार सिबेलले छोरीसँग भेट्दा निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको थियो। उनलाई छोरीसँग पोर्चुगिज भाषामा कुरा गर्नसमेत केही प्रतिबन्ध लगाइएको थियो। विद्यालयका कार्यक्रम र अतिरिक्त क्रियाकलापमा सहभागी हुन पनि रोक लगाइएको थियो।

भिभियनका आफन्तले परिवार घटनाबाट स्तब्ध भएको बताएका छन्। आरोनकी वकिल चार्लोट रेनवाटरले परिवार यो घटनाबाट स्तब्ध भएको बताइन्। २८ वर्षदेखि पारिवारिक कानुनको अभ्यास गर्दै आए पनि यस्तो घटना यसअघि कहिल्यै अनुभव नगरेको उनको भनाइ छ।

सिबेल र आरोनको सम्बन्धविच्छेदपछि उनीहरूबिच छोरीको ‘कस्टडी’ लाई लिएर कानुनी विवाद चलिरहेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।