राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय अन्यत्र सार्ने तयारी थालेको छ।

पार्टीको आफ्नै संरचना निर्माण गर्ने उद्देश्यसहित रास्वपाले काठमाडौं उपत्यकाभित्र पायक पर्ने स्थानमा घर वा जग्गाको खोजी गर्न सुरु गरेको हो।

बिहीबार वनस्थलीस्थित हालको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले कार्यालय सार्ने औपचारिक निर्णय गरेको हो।

पार्टीको कार्यक्षेत्र र साङ्गठनिक संरचना विस्तार हुँदै गएपछि हालको कार्यालयबाट मात्रै दैनिक कार्यसम्पादन गर्न र भिडभाड व्यवस्थापन गर्न कठिनाइ महसुस गर्दै नयाँ स्थानको खोजी गरिएको बताइएको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले काठमाडौं उपत्यकाको उपयुक्त र सहज पहुँच भएको स्थानमा पार्टीका लागि जग्गा वा घर खरिद गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यसका लागि उपयुक्त घर वा जग्गा खोज्न पार्टीका सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई केन्द्रीय समितिले औपचारिक रूपमै अनुरोध गरेको छ।

स्थापनाकालदेखि बसुन्धरामा रहेको आफ्नो कार्यालयलाई रास्वपाले केही वर्षअघि मात्रै वनस्थलीमा सारेको थियो। तर, उक्त स्थान पनि दीर्घकालीन रूपमा अपर्याप्त हुने देखिएपछि पार्टीले आफ्नै स्थायी संरचना बनाउने गृहकार्य थालेको हो।

शनिबारको सोही केन्द्रीय समिति बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्नुका साथै असोज २० देखि २७ गतेसम्म ७५३ वटै पालिकामा ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।