फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारलाई दुबईका युवराज तथा युएईका उपप्रधानमन्त्री र रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन रशिद अल मकतूमले भेटेका छन्।
शनिबार भएको भेटमा उनले मच्छारले देखाएको साहस, जिम्मेवारी र यात्रुको जीवन जोगाउन गरेको प्रयासको प्रशंसा गरेका छन्। शेख हमदानले एक्समा स्मितले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारीबाट पछि नहटी मानव जीवन जोगाउन उच्च स्तरको साहस र संवेदनशीलता देखाएको बताएका छन्।
‘मच्छारले देखाएको साहस र जिम्मेवारीका लागि हामी र देशको नेतृत्वको तर्फबाट उनीप्रति पूर्ण सम्मान र प्रशंसा छ,’ उनले लेखेका छन्।
मच्छार युएईको टोलीको महत्त्वपूर्ण हिस्सा भएको पनि उनले बताएका छन्। ‘उनी हाम्रो टोलीको हिस्सा हुन्। उनी हाम्रो देशको कथाको हिस्सा हुन्। युएईले प्रतिनिधित्व गर्ने करुणा, शान्ति र मानव जीवनप्रतिको सम्मानको पनि उनी हिस्सा हुन्। उनीप्रति हामी गर्व गर्छौँ,’ उनले थप लेखेका छन्।
बुधबार दुबईबाट इजरायलको तेल अभिभतर्फ गइरहेको एफजेड१०७३ विमानमा को-पाइलट ओमानी नागरिक हमाम अल-हमामीले ककपिटभित्र भारतीय पाइलट स्मितमाथि आकस्मिक अवस्थामा प्रयोग हुने बन्चरोले आक्रमण गर्दै विमानको नियन्त्रण लिन खोजेका थिए। युएईका अधिकारीहरूले घटनालाई ‘आतंकवादी कार्यको प्रयास’ भन्दै अनुसन्धान थालेका छन्।
आक्रमणका कारण विमान छोटो समयमै ठुलो उचाइबाट तल झरेको थियो। गम्भीर रूपमा घाइते भए पनि मच्छार ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि चालक दल र यात्रुले को-पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। विमानमा रहेका अन्य पाइलटले नियन्त्रण सम्हालेपछि विमानलाई साउदी अरबको ताबुकमा सुरक्षित अवतरण गराइएको थियो।
उडानमा १७० भन्दा बढी मानिस सवार थिए। घटनामा उनी घाइते भएका थिए भने अन्य यात्रुलाई ठुलो क्षति हुन पाएन। मच्छारलाई उपचारका लागि युएई फर्काइएको छ। उनको स्वास्थ्य अवस्था राम्रो रहेको युएईको जनरल सिभिल एभिएसन अथोरिटीले जनाएको छ।
प्राधिकरणले स्मित, विमानका चालक दल र घटनालाई नियन्त्रणमा ल्याउन सहयोग गर्ने यात्रुको पनि प्रशंसा गरेको छ।
घटनाबारे युएईका महान्यायाधिवक्ताको आदेशपछि सार्वजनिक अभियोजनका सदस्य सम्मिलित टोलीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले अनुसन्धानका क्रममा सम्बन्धित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको र अनुसन्धानको गोपनीयता कायम राखिएको बताएका छन्।

प्रतिक्रिया