विश्वभर देखिने नयाँ क्यान्सरका हरेक आठमध्ये करिब एक घटना संक्रमणसँग सम्बन्धित रहेको नयाँ अध्ययनले देखाएको छ। सन् २०२४ मा विश्वभर देखिएका करिब २३ लाख नयाँ क्यान्सरका घटना विभिन्न संक्रमणसँग जोडिएका थिए।
इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अध्ययनमा क्यान्सरसँग सम्बन्धित १२ प्रकारका संक्रमण पहिचान गरिएको छ। यसमा हेलिकोब्याक्टर पाइलोरी, मानव प्यापिलोमाभाइरस, हेपाटाइटिस बी भाइरस, हेपाटाइटिस सी भाइरस, एपस्टाइन-बार भाइसलगायत संक्रमण छन्।
यीमध्ये पाँच संक्रमणले अधिकांश घटनामा योगदान पुर्याएका थिए। हेलिकोब्याक्टर पाइलोरीसँग करिब सात लाख ६० हजार, मानव प्यापिलोमाभाइरससँग सात लाख ५० हजार, हेपाटाइटिस बी भाइरससँग तीन लाख ६० हजार, एपस्टाइन-बार भाइरससँग दुई लाख ६० हजार र हेपाटाइटिस सी भाइरससँग एक लाख ६० हजार क्यान्सरका घटना सम्बन्धित थिए।
अध्ययनकी सहलेखक डा. ह्यारिएट रुमगेले संक्रमण नियन्त्रणले विश्वभर क्यान्सरको बोझ घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्। खोप, उपचार र स्वास्थ्य परीक्षणमार्फत यीमध्ये धेरै क्यान्सर रोक्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
क्यालिफोर्नियास्थित सिटी अफ होप ओरेन्ज काउन्टीका स्त्रीरोग क्यान्सर कार्यक्रमका मेडिकल निर्देशक डा. जोशुआ कोहेनले फक्स न्युजसँग कुरा गर्दै केही संक्रमणले निश्चित प्रकारका क्यान्सरको जोखिम बढाउन सक्ने बताए। तर अधिकांश क्यान्सर संक्रमणका कारण नहुने उनले स्पष्ट पारेका छन्।
उनका अनुसार मानव प्यापिलोमाभाइरस पाठेघरको मुख, योनी, गुदा र घाँटीको पछाडिको भागमा हुने केही क्यान्सरसँग सम्बन्धित छ। यसको संक्रमण भएका अधिकांश मानिसको शरीरले आफैं भाइरस हटाउने उनको भनाइ छ। त्यस्तै, हेलिकोब्याक्टर पाइलोरी पेटको क्यान्सरसँग सम्बन्धित संक्रमण हो।
कोहेनले संक्रमणबाट बच्ने उपाय अपनाउनु, आवश्यक खोप लगाउनु, संक्रमण भएमा समयमै उपचार गर्नु र स्वास्थ्य परीक्षण गराउनु महत्वपूर्ण हुनेमा जोड दिए। मानव प्यापिलोमाभाइरस, हेलिकोब्याक्टर पाइलोरी तथा हेपाटाइटिस बी वा सी भएका अधिकांश मानिसलाई क्यान्सर नहुने उनले स्पष्ट पारे।
पेटको माथिल्लो भागमा लगातार दुखाइ, असामान्य योनिरक्तस्राव वा खाना निल्दा दुख्ने जस्ता समस्या देखिएमा चिकित्सकसँग परामर्श गर्न उनले सुझाव दिएका छन्।
फ्रान्समा गरिएको अध्ययन सन् २०२४ को क्यान्सरसम्बन्धी तथ्यांकमा आधारित छ। यसको निष्कर्ष सेप्टेम्बर २८ मा ‘द ल्यान्सेट ओन्कोलोजी’ मा प्रकाशित भएको थियो।

प्रतिक्रिया