नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको तेस्रो स्थानको प्लेअफमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कांस्य पदक जितेको छ।

निसिनमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो। श्रीलंकाका लागि थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ६५ रन बनाए। उनले ७ चौका र ५ छक्का प्रहार गरे।

साहान अराच्चिगेले ३७ बलमा ३३ तथा अशेन बान्डाराले २४ बलमा १८ रन बनाए। वानुजा साहान ५ र नुवान थुसारा २ रनमा नटआउट रहे।

बंगलादेशका माहेदी हसन र सैफ हसनले समान २ विकेट लिए। अल इस्लाम, रिशाद हुसेन र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए।

१६६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.३ ओभरमा १०२ रनमै अलआउट भयो। बंगलादेशका लागि नसुम अहमदले सर्वाधिक २६ रन बनाए। यासिर अलीले २१, परवेज हुसेन इमोनले २० तथा तौहिद हृदोयले ११ रन जोडे।

बंगलादेशका सुरुआती तीन ब्याटर सैफ हसन, तान्जिद हसन र कप्तान लिटन दासले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाका बलरले सुरुदेखि नै दबाब कायम राखेपछि बंगलादेशले नियमित अन्तरालमा विकेट गुमायो।

श्रीलंकाका वानुजा साहानले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। नुवान थुसाराले ४ ओभरमा १८ रन दिएर २ तथा थारिन्दु रत्नायके र विजयकान्त भियास्कान्तले पनि २-२ विकेट लिए। साहान अराच्चिगे र दुशन हेमन्थाले एक-एक विकेट लिए।

यससँगै श्रीलंकाले ६३ रनको जित निकाल्दै पुरुष क्रिकेटमा एसियाली खेलकुदको कांस्य पदक आफ्नो नाममा गरेको छ।