ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलताका लागि विशेष कार्यक्रम ल्याएको छ। यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ।
विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको हो। यो कार्यक्रमका लागि विभागले योजना छनोट दिग्दर्शन, २०८३ तयार पारेको छ।
भूमिगत जलस्रोतको दिगो उपयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उधमी तथा किसानलाई भरपर्दो सिंचाइ सुबिधा उपलब्ध गराउन र योजना छनोट तथा कार्यक्रम कार्यान्वयन लाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम यो दिग्दर्शन बनाइएको विभागमा महानिर्देशक दिनेश रजौरियाले बताए।
उनका अनुसार कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाइ कार्यक्रम, योजना छनोट दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, सस्था वा समूहलाई छनोट गरी कार्यक्रममा समावेश गरिनेछ।
को-को सहभागी हुन पाउँछन् ?
यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइने उपमहानिर्देशक देव स्याङ्बोले बताए। उनका अनुसार महिला, आदिवासी जनजाति, दलित अल्पसंख्यक तथा पिछडिएको क्षेत्रलाई पनि प्राथमिकता दिइने छ।
साथै कृषि सहकारी संस्था तथा महिला वा आमा समूहलाई प्राथमिकता दिने, प्राकृतिक प्रकोप प्रभावित परिवारलाई प्राथमिकता दिने, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई प्राथमिकता दिने र स्थानीय तह/प्रदेश/संघीय निकायहरूमा दर्ता भएको संस्थालाई प्राथमिकता दिने दिग्दर्शनमा उल्लेख छ।
यो कार्यक्रममा सहभागी हुन कम्तिमा ६ हेक्टर जमिन स्वामित्वमा वा भाडामा हुनुपर्ने, जग्गा भाडामा लिएको भए सोको कम्तिमा दश वर्षको सम्झौता पत्र, सम्बन्धित जग्गा धनीको ट्युबवेल निर्माण गर्न दिने मन्जुरीनामा पेश गर्नुपर्ने उल्लेख छ।
कस्ता उत्पादनलाई प्राथमिकता ?
दिग्दर्शनअनुसार तरकारी तथा फलफूल, मसला बाली, बीउ उत्पादन तथा नर्सरी, अन्य नगदे बाली, पुष्प खेती, जडिबुटी, माछापालन, घाँस तथा पशुचारालाई प्राथमिकता दिइने उल्लेख छ। दिग्दर्शनअनुसार जग्गाको स्वामित्व तथा उपयुक्तताको स्थलगत प्रमाणीकरण गरिनेछ। भूमिगत जलस्रोत सम्भाव्यता रहेको स्थान पहिचान गरिनेछ।
दिग्दर्शनअनुसार सम्बन्धित कार्यालयले योजनाको संचालन हुने सिँचाइ क्षेत्र, कृषि उत्पादन तथा संरचनाको मर्मत सम्भारको नियमित अनुगमन गर्नेछ।

प्रतिक्रिया