राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सञ्चार जगत्‌लाई लक्षित गरी दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले तत्काल क्षमा याचना गर्न माग गरेको छ।

पूर्वपत्रकारसमेत रहेका सांसद खत्रीले यही असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट नहुने र प्रेस काउन्सिललाई धम्क्याउने पत्रकार हुन् कि गुण्डा ? भन्दै अभिव्यक्ति दिएका थिए।

उनले महासंघका नेताहरू दलको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोलेको आरोपसमेत लगाएका थिए। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सांसद खत्रीको अभिव्यक्ति अशोभनीय, अमर्यादित, अराजक र प्रेसविरोधी भएको ठहर गरिएको छ।

तथ्य नबुझी समग्र पत्रकारिता क्षेत्रकै अपमान हुने गरी दिएको अभिव्यक्तिप्रति महासंघले खेद प्रकट गरेको छ। विवादास्पद अभिव्यक्तिकै कारण सांसद खत्रीले शुक्रबारका लागि तय गरेको अन्तरक्रिया कार्यक्रम भक्तपुरका पत्रकारहरूले बहिष्कार गर्ने जनाउ दिइसकेका छन्।

यस अवस्थामा सांसद खत्रीसँग तत्काल सार्वजनिक क्षमा माग्नुको विकल्प नरहेको महासंघले बताएको छ।