राप्रपा नेता खुश्बु ओलीले संसद्‌मा जनसरोकारका विषयमा मौन बस्ने र सामाजिक सञ्जालमा क्रान्ति देखाउने रास्वपाका जस्ता सांसद हुनुभन्दा चुनाव हार्नु ठिक हुने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्षका सांसदहरूको भूमिका र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

संसद्‌मा बोल्ने अवसर पाउँदा मौन बस्ने तर सामाजिक सञ्जालमा स्टन्ट गर्ने प्रवृत्ति बन्द हुनुपर्ने उनले बताइन्।

‘मिडिया हाउस अगाडि गाडी तेर्साउँदा चुप रहने, राजनीतिक नियुक्तिमा भेदभाव हुँदा चुप रहने अनि चोलेन्द्र शमशेर प्रकरणमा पनि मौनता साँध्ने ?’ उनले भनिन्, ‘संसद् प्रश्न उठाउने ठाउँ हो। संसद्‌मा आवाज उठाउन नसक्नेले फेसबुकमा जतिसुकै ठूलो कुरा गरे पनि त्यो जनताको आवाज बन्दैन। आफ्नो सरकारलाई समेत प्रश्न सोध्न सक्नु सांसदको जिम्मेवारी हो।’

केही दिनअघि अमेरिकामा परराष्ट्रमन्त्रीले नेपाली समुदायलाई सम्बोधन गर्दै पाँच वर्षभित्र दोहोरो नागरिकता सम्भव नरहेको बताएको अभिव्यक्तिप्रति समेत उनले आपत्ति जनाइन्।

सत्तापक्षसँग १८२ सांसदको भारी बहुमत रहेको र प्रतिपक्षले समेत पूर्ण समर्थनको प्रतिबद्धता जनाउँदा पनि सरकार नागरिकता दिन पछि हटेको उनको आरोप छ।

गैरआवासीय नेपाली (एनआरएन) को मुद्दा उठाउँदै उनले भनिन्, ‘एनआरएनको भोट चल्ने, नोट चल्ने तर नागरिकताको एजेन्डा सरकारमा नचल्ने ? गैरआवासीय नेपालीले नागरिकताको निरन्तरता माग्दा सरकारले दिन नसक्ने कारण के हो ?’

नेपाली नागरिकहरू नागरिकता पाउनबाट वञ्चित भइरहँदा भारत, बंगलादेश, रोहिंग्या र तिब्बतका मानिसहरूले गैरकानुनी रूपमा नागरिकता लिइरहेको दाबी गर्दै उनले यसको तत्काल छानबिन गर्न सरकारसँग माग गरिन्।