नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सत्ता सञ्चालनका क्रममा कमजोरी भएको स्वीकार गर्दै सरकार र राजनीतिक दल कसैलाई पनि विधि तथा विधानभन्दा बाहिर जाने छुट नभएको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्र नं-१, गुल्मीद्वारा रुरुक्षेत्र गाउँपालिका-१ मा आज आयोजित क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले संविधान, कानुन र पार्टीको विधान मिचेर गरिने कुनै पनि अभ्यास स्वीकार्य नहुने बताए।
गलत प्रवृत्तिका विरुद्ध दलहरू मिलेर खबरदारी गर्नुपर्ने आवश्यकता उनले औँल्याए। सत्ता सञ्चालनका क्रममा नेतृत्वबाट कमजोरी भएको स्वीकार गर्दै नेता भण्डारीले पुर्खा र अघिल्लो पुस्ताको त्यागबाट पाठ सिक्नुपर्ने बताए।
‘अग्रजहरूले व्यक्ति केन्द्रित स्वार्थ र सोचबाट माथि उठेर हामी, हाम्रो र अन्ततः सिङ्गो देश निर्माण गर्न अधिकारका लागि लडाइँ लडेका थिए,’ उनले भने, ‘त्यसैले अहिलेका दलहरू पनि आत्मकेन्द्रित नभई देश र विधिको पक्षमा उभिनुपर्छ।’

प्रतिक्रिया