पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतको पूर्ण बैठकले आपत्ति जनाएलगत्तै प्रधानन्यायाधीश र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बीच भेटवार्ता भएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई भेट्न प्रहरी महानिरीक्षक दानबहादुर कार्की मंगलबार दिउँसो सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा दुई पक्षबीच करिब पौने घण्टा ‘वान-अन-वान’ छलफल भएको छ।
दिउँसो करिब ४:१५ बजे सर्वोच्च पुगेका महानिरीक्षक कार्की र प्रधानन्यायाधीश शर्माबीच पौने ५ बजेसम्म संवाद चलेको थियो। भेटवार्तामा भएको कुराकानीबारे औपचारिक रूपमा केही नखुलाइए पनि स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण, उत्पन्न विवाद र ‘सुरक्षा थ्रेट’ कै विषयमा केन्द्रित रहेर छलफल भएको छ।
प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै शनिबार राति पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट नियन्त्रणमा लिएर करिब १० घण्टा प्रहरी कार्यालयमा राखेको थियो। सरकार र प्रहरी प्रशासनले जबरामाथि सुरक्षा जोखिम बढेकाले ‘रेस्क्यु’ गरिएको दाबी गर्दै आएका छन्।
यता, पूर्वप्रधानन्यायाधीशलाई रातारात नियन्त्रणमा लिएर १० घण्टासम्म राखिएको घटनाप्रति सर्वोच्च अदालतले संस्थागत असन्तुष्टि जनाएको थियो। सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रहरीको उक्त कदमलाई स्वेच्छाचारी ठहर गर्दै औपचारिक विज्ञप्तिमार्फत विरोध जनाएको थियो।
सर्वोच्चको फुलकोर्टले आपत्तिजनक विज्ञप्ति जारी गरेलगत्तै घटनाको वस्तुस्थिति बुझ्न र सुरक्षा संवेदनशीलतामाथि विमर्श गर्न प्रधानन्यायाधीश शर्माले महानिरीक्षक कार्कीलाई बोलाएर छलफल गरेका हुन्।

प्रतिक्रिया