कञ्चनपुरको बेलौरीस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने बेलडाँडी-दैजी सडकखण्डको किनारमा पाटेबाघ देखे।
मृगको सिकार गरिरहेको अवस्थामा देखिएको उक्त पाटेबाघको तस्बिर उनले आफ्नो क्यामेरामा कैद गरेका छन्।

तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले यस सडकखण्ड भएर यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सजगता अपनाउन आग्रह गरेका छन्।
घटनाको विवरण सुनाउँदै प्रधानाध्यापक अवस्थीले लेखेका छन्, ‘आज बिहान गाडीमा महेन्द्रनगर गइरहेको बेला मृग मुखमा च्यापेको अवस्थामा एउटा अत्यन्तै ठूलो पाटेबाघ मेरो गाडी देखेर उभियो। मैले एक्कासि ब्रेक लगाए।’
आफ्नो गाडीको पछाडि आइरहेको एक मोटरसाइकल झन्डै बाघसँग ठोकिनबाट जोगिएको समेत उनको भनाइ छ।
नियमित आवागमन हुने सडकमा सर्वसाधारणको ओहोरदोहोर र वन्यजन्तुको समेत बाक्लो गतिविधि देखिन थालेपछि मानव र वन्यजन्तुबिचको द्वन्द्व बढ्ने खतरा उत्पन्न भएको छ। यसले यात्रु तथा वन्यजन्तु दुवै पक्षलाई उच्च जोखिममा पारेको संरक्षणविद्हरू बताउँछन्।
दैजी-बेलडाँडी सडकखण्डको करिब १५ किलोमिटर भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
‘पैदल ओहोरदोहोर गर्न त बन्देज लगाइएको छ, तर सवारीसाधनहरू निरन्तर ओहोरदोहोर हुने गरेका छन्,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘वन्यजन्तुमैत्री पूर्वाधार नहुँदा यो सडकखण्डमा मानव र वन्यजन्तु दुवैलाई उच्च जोखिम देखिन्छ।’
सडक छेउछाउमा पानीको नहर र बाक्लो झाडी रहेका कारण बाघलगायतका वन्यजन्तुको गतिविधि बढेको उनले बताए।
मानिसहरूको नियमित आवागमन हुने सडक नजिकै पाटेबाघ देखिन थालेपछि स्थानीय बासिन्दा तथा यात्रुहरू त्रसित बनेका छन्। निकुञ्जभित्र पर्ने सडक किनारमा बाक्लो झाडी फाँड्ने नगरिँदा जङ्गली जनावरहरू सीधै सडक छेउमै आइपुग्ने गरेका हुन्।
सडक किनारमा बाक्लो झाडी भएका कारण जङ्गली जनावरहरू आँखै अगाडि आइनपुग्दासम्म देख्न नसकिने प्रधानाध्यापक अवस्थीले बताए। दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सडक किनारका झाडीहरू तत्काल सफा गर्नुपर्ने उनको माग छ।
वरिपरि घना मानव बस्ती रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज केवल ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। हाल यहाँ बाघको संख्या ५० पुगेको छ। सीमित क्षेत्रफलमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदा मानव र बाघबिचको द्वन्द्व व्यवस्थापन गर्नु निकुञ्जका लागि ठूलो चुनौती बनेको छ।
स्थानीय बासिन्दा पनि गाउँबस्तीमै बाघको जोखिम बढ्न सक्ने भन्दै चिन्तित बनेका छन्। यसअघि पनि निकुञ्जबाट निस्किएर बाघ बस्तीमा पस्दा तथा जङ्गलमा घाँस-दाउरा र मेलापात गएका बेला आक्रमण गर्दा दुई जनाले ज्यान गुमाइसकेका छन्।
बाघको संख्या बढेसँगै बस्तीमै बाघ आएर सर्वसाधारणको ज्यान लिन सक्ने जोखिम बढेको स्थानीयहरूको भनाइ छ। विशाल घाँसे मैदान, प्रशस्त आहारा प्रजाति र खानेपानीको पर्याप्त उपलब्धताका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या द्रुत गतिमा बढेको हो।
बाघले जङ्गलमा आफ्नो निश्चित इलाका (टेरिटोरी) छुट्याएर बस्ने गर्छ।
संरक्षणकर्मीहरूका अनुसार एउटा भाले बाघ आफ्नो इलाकाभन्दा बाहिर जाँदैन र आफ्नो इलाकाभित्र अर्को भाले बाघलाई प्रवेश गर्न पनि दिँदैन।
शुक्लाफाँटामा प्रतिवर्गकिलोमिटर १ सय ४६ वटा आहारा प्रजाति रहेका छन्। बाघका लागि धेरै आहारा प्रजाति पाइने सन्दर्भमा नेपालमै बर्दिया राष्ट्रिय निकुञ्जपछि शुक्लाफाँटा दोस्रो स्थानमा पर्छ।
शुक्लाफाँटामा १६ वर्षमा ४२ बाघ बढे
बाघ आफ्नो निश्चित इलाकाभित्रै सीमित भएर बस्ने गर्छ। उसले आफ्नो क्षेत्र छुट्याउन चारैतिर नङ्ग्राले रुख कोतरेर तथा दिसा-पिसाबको गन्ध छोडेर सीमा निर्धारण गर्छ, ताकि उक्त क्षेत्रभित्र अर्को बाघ प्रवेश नगरोस्।
विगतमा एउटा भाले बाघ बस्नका लागि ५० देखि ६० वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्ने बताइए पनि आहारा प्रजाति प्रशस्त भएमा १५ देखि २० वर्ग किलोमिटरमै भाले बाघ बस्न सक्ने संरक्षणकर्मीहरू बताउँछन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो चार वर्षको अवधिमा मात्रै १४ वटा बाघ बढेको संरक्षण अधिकृत तथा सूचना अधिकारी वाग्लेले जानकारी दिए।
वि.सं. २०८२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या ५० पुगेको छ।
शुक्लाफाँटामा क्यामरा ट्रयापिङ प्रविधि प्रयोग गरी सबैभन्दा पहिले सन् २००९ मा गणना गर्दा यहाँ केवल ८ वटा बाघ फेला परेका थिए। त्यसयताका १६ वर्षको अवधिमा निकुञ्जमा ४२ वटा बाघ थपिएका हुन्।
सन् २००९ मा बाघको पहिलो राष्ट्रिय गणना हुँदा देशभर बाघको कुल संख्या १ सय २१ मात्र थियो। रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने गरिएको ऐतिहासिक घोषणा बमोजिम नेपालले पनि बाघ संरक्षणको विशेष नीति बनाएर कार्यान्वयन गरेको संरक्षण अधिकृत वाग्ले बताउँछन्।
बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य हासिल भइसकेकाले अब देशभरि नै संख्या बढाउनुभन्दा पनि यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने संरक्षणकर्मीहरूको राय छ।
संरक्षणकर्मीहरूका अनुसार अशक्त, बुढो वा समस्याग्रस्त बनेका बाघहरूको पहिचान गरी आहाराको प्रबन्धसहित नियन्त्रणमा राख्ने दीर्घकालीन उपाय अवलम्बन गरिनुपर्छ।
हाल विश्वका १३ वटा देशमा मात्रै प्राकृतिक वासस्थानमा बाघ पाइन्छ। विज्ञहरूका अनुसार बाघ जन्मिएको अढाईदेखि तीन वर्षभित्र वयस्क भइसक्छ भने यसको औसत आयु १६ देखि २० वर्षसम्म हुने गर्छ।
देशभर हाल बाघको कुल संख्या बढेर ४ सय २९ पुगेको छ। नेपालमा सन् २००९ देखि प्रत्येक चार-चार वर्षमा देशभर एकै चरणमा राष्ट्रिय बाघ गणना गर्ने अभ्यास गरिँदै आएको छ।

प्रतिक्रिया