अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोका कारण देशभर ३१ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।
विपद्ले देशका अधिकांश सडक सञ्जाल विच्छेद गरेपछि जोखिममा परेका नागरिकको उद्धार गर्न र बन्द सडक खुलाउन नेपाल प्रहरीसहितका सुरक्षा निकायहरू उच्च सक्रियताका साथ फिल्डमा खटिएका छन्।
प्रहरीका अनुसार गत असोज ८ गतेदेखि सुरु भएको बाढीपहिरोमा परी हालसम्म १ हजार ६ सय ४ जनाको सकुशल उद्धार गरिएको छ। विपद्मा परी १२ जना अझै बेपत्ता छन् भने ८ जना घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
बाढीपहिरोका कारण देशभर १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। यस अवधिमा १ सय १३ वटा पशुचौपाया मरेका छन् भने २ हजार ३ सय २२ घरपरिवार विस्थापित भएका छन्।
विपद्बाट सबैभन्दा बढी मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ। यहाँ २० जनाले ज्यान गुमाएका छन्। बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा ४ जना रहेका छन्।
यस्तै, लुम्बिनी प्रदेशको पाल्पामा ५, बागमती प्रदेशमा ३ (धादिङ, मकवानपुर र काभ्रेमा १-१ जना), कर्णाली प्रदेशमा २ (डोल्पा र रूकुम पश्चिममा १-१ जना) तथा मधेस प्रदेशको धनुषामा १ जनाको मृत्यु भएको छ।
वर्षा केही कम भए पनि देशका मुख्य जीवनरेखा मानिएका राजमार्गहरू पहिरोले क्षतविक्षत बनेका छन्।
कान्तिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (धादिङको बेनीघाट र तनहुँको घाँसीकुवा खण्ड), पृथ्वी लोकमार्ग (धादिङ), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक) तथा रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्।
यसैगरी मध्यपहाडी लोकमार्ग (बागलुङ र लमजुङ खण्ड), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व र गुल्मी खण्ड), चामे-बेसीशहर, बेनी-जोमसोम, बेनी-दरबाङ, जोमसोम-कोरोला, मालढुंगा-बेनी, घोराही-थवाङ-रूकुम शहिदमार्ग, मदन भण्डारी राजमार्ग (रोल्पा खण्ड), रूद्रवेणी-वामीटक्सार, तुलसीपुर-घोराही, गाईघाट-वालिङ, सिद्धार्थ राजमार्ग (पाल्पा खण्ड) र ढोरपाटन सडकखण्ड पनि ठप्प छन्।
कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म-गम्गढी (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) समेत पहिरोले पूर्ण रूपमा बन्द भएका छन्।
केही सडकखण्ड भने आंशिक रूपमा खुलाइएका छन्। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड, मध्यपहाडी लोकमार्गको पर्वतस्थित तामादी खोला खण्ड र काभ्रेस्थित बिपी राजमार्ग एकतर्फी सुचारु गरिएको छ।
जोखिमलाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर खण्ड), मध्यपहाडी लोकमार्ग (भोजपुर खण्ड) र टोखा-छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्ण रोक लगाइएको छ।
प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा हेभी उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउने, पुरिएका धनमाल निकाल्ने र विस्थापितलाई सुरक्षित स्थानमा सार्ने कार्य निरन्तर गरिरहेको छ।
पहिरोको उच्च जोखिम कायमै रहेकाले लामो यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक पेजमार्फत सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया