मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार थप दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ।
बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ। यससँगै हालसम्म ४ जनाको शव उद्धार गरिएको छ।
भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिमलुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना सकुशल फु–गाउँमा आएर बसेका थिए। बाँकी १२ जना हिमपहिरोमा परी सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि फेला परेका संखुवासभा भोटखोला गाउँपालिका–३ ५२ वर्षीय छेबि भोटे र भोटखोला गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटेको शवलाई टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।
सोमबार फेला परेका दुई शवको नामथर तथा वतन हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। उनीहरुलाई पनि काठमाडौं पठाउने तयारी भइरहेको छ।
बाँकी सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया