‘बिग बोस मराठी’की पूर्वप्रतियोगी तथा इन्फ्लुएन्सर दिव्या शिंदेलाई पुणे प्रहरीले पक्राउ गरेको छ। आफ्ना केही साथीसँग मिलेर पुणेमा बस्ने एक अवकाशप्राप्त (रिटायर) सरकारी डाक्टरको घरमा प्रवेश गरी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको र घरमा तोडफोड गरेको शिंदेमाथिआरोप छ।

डाक्टर विद्याधर गायकवाड ‘करुणादीप फाउन्डेसन’ नामक सामाजिक संस्थासँग आबद्ध थिए। उक्त संस्थाले सेप्टेम्बर १ देखि ३ सम्म पुणेको बालगन्धर्व रंगमन्दिरमा ‘कला आविष्कार महोत्सव’ नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। डाक्टर गायकवाडका भाइ महेन्द्रले प्रहरीलाई दिएको जानकारीअनुसार, दिव्या शिंदेलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको थिएन। तर उनी त्यहाँ पुगेकी थिइन् र सामाजिक सञ्जाल इन्फ्लुएन्सरका रूपमा मञ्चबाट सम्बोधन गरेकी थिइन्।

पीडित परिवारका अनुसार कार्यक्रम सकिएपछि दिव्या शिंदेले आफ्नो उपस्थितिका कारण कार्यक्रमले प्रचार पाएको दाबी गर्दै पाँच लाख रुपैयाँ माग्न थालेकी थिइन्।

परिवारका अनुसार दबाबमा परेर डाक्टर विद्याधरले गुगल पेमार्फत करिब ५० हजार भारु उनलाई पठाएका थिए। तर त्यसपछि पनि बाँकी रकमका लागि दिव्याले लगातार दबाब दिएको आरोप छ।

सेप्टेम्बर २४ को राति करिब ८ः३० बजे दिव्या शिंदे आफ्ना साथी अन्ना धामधरेसहित केही व्यक्तिहरू लिएर न्याति हाइल्यान्ड्सस्थित डाक्टर गायकवाडको घरमा पुगेको आरोप छ।

त्यहाँ उनीहरूले बाँकी रकम तत्काल दिन माग गरेको बताइएको छ। डाक्टरले पैसा दिन अस्वीकार गरेपछि आरोपितहरूले काठको लट्ठी, बेल्ट र धातुको भाँडो प्रयोग गरेर डाक्टरमाथि कुटपिट गरेको परिवारको आरोप छ।

आरोपितहरूले घरमा तोडफोड गर्नुका साथै पैसा नदिए डाक्टर र उनका छोरालाई ज्यान मार्ने धम्की दिएको समेत शिंदेमाथि आरोप छ। घटनामा गम्भीर घाइते भएका डाक्टर गायकवाडलाई उपचारका लागि ससून अस्पतालमा भर्ना गरिएको थियो।

घटनाको भोलिपल्ट पीडित डाक्टरको उजुरीका आधारमा कालेपडल प्रहरी थानामा मुद्दा दर्ता गरिएको थियो। त्यसपछि प्रहरीले दिव्या शिंदेलाई हत्याको प्रयाससम्बन्धी आरोपमा पक्रा गरेको हो।

पुणे निवासी दिव्या शिंदे सामाजिक सञ्जालमा चर्चित छिन् र विभिन्न प्लेटफर्ममा उनका १० लाखभन्दा बढी फलोअर्स रहेको बताइएको छ।

दिव्या शिंदे ‘बिग बोस मराठी सिजन ६’ मा प्रतियोगीका रूपमा सहभागी भएकी थिइन्। तर यसै वर्ष फेब्रुअरीमा कार्यक्रमका क्रममा सहप्रतियोगीहरूलाई धम्क्याएको र दुर्व्यवहार गरेको आरोपपछि उनलाई शोबाट बाहिर निकालिएको थियो।