बलिउड अभिनेत्री रानी मुखर्जीलाई मातृशोक परेको छ। उनकी आमा कृष्णा मुखर्जीको मंगलबार दिउँसो ७५ वर्षको उमेरमा निधन भएको छ।

कृष्णा मुखर्जीको निधनको जानकारी यशराज फिल्म्स (वाईआरएफ) ले आधिकारिक बयानमार्फत दिएको हो। संगीत क्षेत्रसँग जोडिएकी कृष्णा बंगाली सिनेमाकी चर्चित प्लेब्याक गायिका थिइन्। उनको निधनसँगै मुखर्जी परिवार शोकमा डुबेको छ।

वाईआरएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारी मनका साथ हामी रानी मुखर्जीकी आमा श्रीमती कृष्णा मुखर्जीको आज दिउँसो निधन भएको जानकारी गराउँदैछौँ। उहाँ ७५ वर्षकी हुनुहुन्थ्यो। परिवार तपाईंहरू सबैको माया, प्रार्थना र समर्थनप्रति गहिरो आभारी छ। यस अत्यन्त कठिन समयमा परिवारले तपाईंहरूबाट गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछ।”

कृष्णाको भारतीय सिनेमा, विशेषगरी बंगाली फिल्म उद्योगसँग लामो सम्बन्ध थियो। उनले थुप्रै बंगाली चलचित्रमा प्लेब्याक गायन गरेकी थिइन्। शास्त्रीय तथा लोकसंगीतमा समेत उनको राम्रो पकड थियो।

चलचित्रमा गायनसँगै उनी विभिन्न बंगाली एल्बम र स्टेज कार्यक्रममार्फत पनि संगीत क्षेत्रमा सक्रिय थिइन्। संगीत क्षेत्रको अनुभवसँगै फिल्म उद्योगको काम र व्यवसायबारे पनि उनलाई राम्रो ज्ञान रहेको बताइन्छ।

रानी आफ्नी आमासँग निकै नजिक थिइन्। विभिन्न अवसरमा उनले आफ्नो सफलताको श्रेय आमालाई दिँदै आएकी थिइन्। आमा–छोरीबीचको सम्बन्ध निकै आत्मीय रहेको थियो।