सोमबार दुई नयाँ नेपाली चलचित्रका टिजर सार्वजनिक भएका छन्। दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ र पल शाह अभिनीत ‘आ बाट आमा २’ का टिजर सार्वजनिक भएका हुन्।

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरिएको छ। रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रको टिजरमा विजय बरालको एआईसँगको कुराकानीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

टिजरमा दयाहाङ राई र मैयाको प्रवेशलाई पनि आकर्षक शैलीमा देखाइएको छ। अभिनेता विपीन कार्कीको संवाद बोल्ने शैलीले समेत टिजरमा दर्शकको ध्यान खिच्ने देखिन्छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। त्यस्तै पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ।

चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। चलचित्र कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

यता, ‘आ बाट आमा २’ को पनि आमा–छोराको भावनात्मक सम्बन्धमा केन्द्रित टिजर सार्वजनिक गरिएको छ। ३ मिनेट ३७ सेकेन्ड लामो टिजरमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।

टिजरको सुरुवातमा पल शाहले अभिनेत्री मलिका महतलाई बोकेको दृश्य देखिन्छ। त्यस क्रममा आमाको फोन लगातार आइरहेको र घर फर्किँदा आमा सुतिरहेको अवस्थामा देखेपछि पलको पात्र डराएको दृश्य टिजरमा समेटिएको छ।

चन्द्र पन्थको निर्देशनमा बनेको यो चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल हो। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा पल शाह, मलिका महत र विपना थापासहित रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।