बालगायकका रूपमा चर्चामा आएका अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र आर्थिक कठिनाइबारे सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।

फेसबुकमा लामो स्टाटस लेख्दै दर्जीले आफू अहिले आर्थिक अभावमा रहेको बताएका छन्। उनले आफूलाई अझै पनि सडकबाट संघर्ष गरिरहेको व्यक्तिका रूपमा प्रस्तुत गर्दै जीवनमा धेरै उतारचढाव भोगेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘जीवनमा जे हुनु थियो, धेरै चिज भइसकेको छ । मेरो लाइफमा मैले हार पनि खाएँ, जितें पनि, फेरि लडें पनि । आज म सडकको बच्चा सडकमै छु, मेरो यात्रा दिन त्यस्तै नै छ।’

दसैँ–तिहार नजिकिँदै गर्दा परिवार र भाइबहिनीको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको उनले बताएका छन्। पढ्ने उमेरमा पनि पैसा कमाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले आफूलाई अगाडि बढ्नुका साथै परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

दर्जीले आफ्नो आर्थिक अवस्थाबारे थप स्पष्ट पार्दै भनेका छन्, ‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ । धन्य, एउटा घर छ, जुन हजुरहरूको सहयोगबाट बनेको हो । अनि कसैले दिनुभएको अधिया जग्गा छ।’

गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको उल्लेख गर्दै उनले गरिबीप्रति दुःख नभए पनि त्यसले जीवनमा कठिनाइ थपेको बताएका छन्।

यद्यपि, आफूले संघर्षबाट पछि नहट्ने र समाजले आफूमाथि राखेको अपेक्षा पूरा गर्न पुनः अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

संगीतकार टंक बुढाथोकीसँगको विगतको विवादतर्फ संकेत गर्दै दर्जीले आफू धेरै थाकिसकेको र अब आफ्नो जीवनलाई सहज रूपमा अघि बढाउन चाहेको बताएका छन्।

उनले आफू छिट्टै नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आउने तयारीमा रहेको जानकारी दिँदै सबैको माया र साथको अपेक्षा गरेका छन्।

आफ्नो अभिव्यक्ति कसैलाई दोष लगाउने उद्देश्यले नभएको स्पष्ट पार्दै दर्जीले आफूबाट कुनै गल्ती भएको भए क्षमा गरिदिन पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्:

जीवनमा जे हुनु थियो धेरै चिज भइसकेकाे छ। मेरो लाइफमा मैले हार पनि खाएँ, जीतेँ पनि, फेरि लडेँ पनि। मेरो जीवनमा धेरै चिज भयो। आज म सडकको बच्चा सडकमै छु। मेरो यात्रा दिन त्यस्तै नै छ। हार खान सिकेको छैन, आत्म बल छ, लडिराखेको छु। यत्रो सानो उमेरमा समाजको माया पाएको छु, समाजको मायालाई सधैं संगाल्ने छु, अझै गरेर देखाउनु छ, समाजको लागि। समाजले मेरो लागि धेरै सपनाहरू देख्नुभएको छ। अशोकले केही गर्छ भन्ने। त्यो सपनालाई मैले साकार गर्नु छ मलाई अगाडि बढ्नु छ, मैले मेरो परिवार भाइबहिनीलाई पाल्नु छ, अब दसैँ तिहार आउँदैछ, खर्च कसरी चलाउने, आउँदै गरेको दिनहरूलाई कसरी टाल्ने, पैसा कसरी कमाउने, पढ्नु पर्ने उमेरमा, पैसाको भोक छ। कहिले काँही मलाई लाग्छ, कुनै कुनै बच्चाहरूमा यस्तो जोस, पैसा कमाउने जोस पनि आउँदो रहेछ।

यति म धनी परिवारको छोरा भएर जन्मेको थिएँ भने सायद आज म हुने पनि थिएन होला। तर सानैदेखि एउटा गरिब परिवारको परिवार मा जन्मेर होला, धेरै दुःख कष्ट सहेर आउनु पर्यो। तर म गरिबको छोरा हो भनेर मलाई दुःख छैन, किनभने गरिब हुनु हाम्रो गल्ती हैन। यो त सबैको आफ्नो आफ्नो भाग्य हो। अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु। अब मैले आफ्नो सङ, आफ्नो गीतहरू लिएर आउँदा फेरि सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सबै दर्शकहरूलाई मेरो हिर्दय देखि धेरै माया छ, सबै मलाई सहयोग गर्ने, मलाई साथ दिने, मेरो गुरु, मेरो परिवार हरू सबैलाई पनि माया छ। तपाईँहरूको सधैँ राम्रो होस्, तपाईँहरूलाई मैले दुःख पनि दिए होला, तर मैले जीवनमा कहिले पनि नराम्रो काम गरेको छैन। म कसैको लागि गुड लक पनि रहेछु, सबै आफ्नो आफ्नो कर्मले अगाडि, ठूलो हुनु भएको रहेछ।

हो पनि, मिहिनेत गरेपछि फल पकै पनि राम्रो हुन्छ, म यहाँ सम्मा पुग्नु पनि मेहनत काे फल हाे मबाट केही गल्ती, मबाट केही मिस्टेक भएको छ भने, जानी नजानी भको पनि होला, मलाई माफ गरिदिनु होला। अब चाहिँ म थाकिसके, म धेरै नै थाकिसकेँ। अब मेरो लाइफलाई म स्ट्रेट तरिकाले लाग्ने छु मेरो यात्रामा मलाई सधैँ साथ दिनु होला। मैले गरेको कामहरूलाई माया गरिदिनु होला, मलाई त्यति भए हुन्छ मेरो जीवन मै चलाउनु सक्छु। मलाई माया गर्न हुने सम्पूर्ण दर्शक लाई मन देखि धेरै आभारी जताउन चाहे सधैं यसरी नै साथ् दिनु होला धन्यवाद ।

आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ। धन्य, एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो। अनि कसैले दिनुभएको अधिया जग्गा छ। धन्य भगवान्ले हेरिरहनुभएको छ, मेरो लाइफमा पनि कुनै दिन केही राम्रो होला भन्ने आशा छ।

आज मैले मेरो मनको कुरा मात्र भनेको हुँ। मैले कसैलाई दोष दिन खोजेको होइन, न त कसैलाई नराम्रो भन्न खोजेको हुँ। यदि मैले केही गल्ती गरेको छु भने मलाई माफ गरिदिनुहोला। मैले गरेको कामलाई मन पराइदिनुहोला र मलाई निरन्तर साथ दिनुहोला।

मेरो कुरा बुझिदिनुहुने सबैलाई मनदेखि नै धेरै धेरै धन्यवाद।