अमेरिकी मिडिया ‘द ग्रेजोन’ को विवादास्पद रिपोर्टलाई आधार मान्दै नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरूमाथि गम्भीर आरोप लगाएका छन्।
४ अर्ब विदेशी डलर खाएर सिंहदरबार, सर्वोच्च अदालत र सदन जलाएर मुलुक ध्वस्त पार्ने षड्यन्त्रमा उनीहरू लागेको दाबी गर्दै बस्नेतले त्यस्ता नेताहरूलाई जनताले लखेट्नुपर्ने बताएका हुन्।
सार्वजनिक भएको विवादास्पद ‘ग्रेजोन’ को रिपोर्टमा अमेरिकी फन्डिङमार्फत नेपालका नयाँ पुस्ताका राजनीतिकर्मीलाई तयार पारिएको दाबी गरिएको छ। सोही रिपोर्टलाई उद्धृत गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेन, गृहमन्त्री सुधन, रास्वपा सभापति रवि लामिछाने, रञ्जु दर्शना लगायतका नेताहरू विदेशीको दलाल बनेको आरोप लगाए।
उनले यी नेताहरूमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण तत्काल आउनुपर्ने माग गरेका छन्। ‘ग्रेजोन’ रिपोर्टबारे प्रश्न उठाएकै कारण विश्लेषक भरत दाहाललाई प्रधानमन्त्री बालेनको सचिवालयको निर्देशनमा पक्राउ गरिएको दाबी समेत बस्नेतले गरे।
‘ग्रेजोनको रिपोर्ट गलत हो भने उहाँहरूले स्पष्टीकरण दिनुपर्छ,’ बस्नेतले भने, ‘चोरको खुट्टो काट् भन्दा चोरले खुट्टो उचालेझैं उहाँहरूले अहिले खुट्टा उचालिरहनुभएको छ। देशविरुद्ध षड्यन्त्र गर्नेहरूमाथि गम्भीर सजाय हुनुपर्छ।’
फरक प्रसंगमा बस्नेतले संविधान निर्माण र विदेशी हस्तक्षेप रोक्न एमालेको ऐतिहासिक भूमिका रहेको स्मरण गराए। लहड र भावनामा आएर गणतन्त्र, संघीयता वा समावेशिता फाल्ने गरी संविधान संशोधन गर्न नहुने उनले सुनाए।
यद्यपि, राज्यको आर्थिक भार घटाउने र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने उद्देश्यले भने संविधान संशोधनमा छलफल गर्न सकिने उनको तर्क छ।
त्यस्तै, संविधान दिवसको अवसरमा राष्ट्रपतिले आयोजना गरेको भीभीआईपी चियापानमा एमालेलाई नबोलाइएको भन्ने हल्लालाई उनले खारेज गरे। तस्बिर वा औपचारिक कार्यक्रममा देखिनुभन्दा पनि संविधान दिवस मनैदेखि मनाउनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया