नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए।
तत्कालीन समयमा सरकार प्रमुखको रूपमा आफूले गोली नचलाउन निर्देशन दिँदादिँदै पनि योजनाबद्ध रूपमा हत्याकाण्ड मच्चाएर काँक्रो आफूले खाने र बियाँ अरुको मुखमा टाँस्ने षड्यन्त्र भएको उनले जिकिर छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त दाबी गरेका हुन्। गत भदौ २३ गते अनावश्यक ढंगले हत्याको काण्ड गराइएको र त्यसैलाई निहुँ बनाएर भोलिपल्ट लुटपाट, हिंसा र आतंक फिँजाइएको उनले बताए।
तत्कालीन प्रधानमन्त्रीका रूपमा आफूले आन्दोलनकारीमाथि दमन नगर्न स्पष्ट आदेश दिएको उनले स्मरण गराए। ‘गोली हामीले त चलाएनौं, नचलाउनु भनेको थियो। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ,’ उनले प्रश्न गरे, ‘तर दमन भयो किन ?’
आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र नेताहरूका घर जलाउने योजना तत्कालीन आवेग र आक्रोशको परिणाम नभई निकै अघिदेखिको षड्यन्त्र भएको उनको दाबी छ।
आगजनी र तोडफोड हुनुभन्दा अगावै ती संरचनाहरू जलेका तस्बिरहरू सार्वजनिक गरिनुले यो सुनियोजित रहेको पुष्टि हुने उनले बताए।
देशलाई अराजकताको भुमरीमा धकेल्ने सुनियोजित षड्यन्त्र अन्तर्गत नै आन्दोलनमा घुसपैठ गराइएको अध्यक्ष ओलीको भनाइ छ। ‘नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरूको कथित सरकार जडान गरी आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू भएका हुन्,’ उनले भने।

प्रतिक्रिया