नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले विगतका योगदान र मूल्यलाई संरक्षण गर्दै नयाँ पुस्ताका आकांक्षा सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा उनले नयाँ पुस्तामा तीव्र विकास र परिवर्तनको चाहना रहेको बताउँदै देशलाई सम्हाल्न, बदल्न, जोखिम उठाउन र जिम्मेवारीपूर्वक अघि बढाउन सक्ने कांग्रेस निर्माण गर्ने बताए।

साथै वडा अधिवेशनमार्फत नयाँ पुस्ताका हजारौँ नेता–कार्यकर्ता नयाँ जिम्मेवारीमा आउने र पार्टीको अधिवेशन प्रक्रियामा विभिन्न जातजाति, भाषा, धर्म र समुदायका साथै महिला, दलित, जनजाति तथा युवाको सहभागितालाई प्राथमिकता दिइएको उनले बताए।

उनले प्रजातन्त्रका सेनानी, द्वन्द्वपीडित, श्रमिक तथा विभिन्न पेशा र व्यवसायमा अनुभव हासिल गरेका व्यक्तिका लागि पार्टीभित्र छुट्टै स्थान सिर्जना गरिएको जानकारी दिए। यसले कांग्रेसलाई नयाँ ढंगले अघि बढ्न ऊर्जा दिने उनको विश्वास छ।

पार्टीभित्र पछिल्लो समय विभिन्न विषयमा मतभेद देखिए पनि महाधिवेशनलाई आपसी दूरी बढाउने नभई नमिलेका मन मिलाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने थापाले बताए।

‘नेपाली कांग्रेस भनेको एउटा ठूलो घरजस्तो हो। हामी योभित्रका परिवारका सदस्य हौँ। परिवारका सदस्यहरूका बीचमा सधैँ एउटै मत हुन्छ भन्ने छैन,’ उनले भने।

वडा अधिवेशनमा विगतका मतभेदलाई आधार बनाएर निर्णय नगर्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे। विगतमा को कहाँ उभिएको थियो भन्ने विषयलाई बिर्सेर अहिले सबै एक ठाउँमा उभिएको भावनाका साथ अधिवेशनमा सहभागी हुनुपर्ने उनको भनाइ थियो।

‘हिजो जो जहाँ उभिएका थियौँ, सबै कुरा बिर्सौँ। हामी सबै अहिले एकै ठाउँ उभिएका छौँ,’ थापाले भने।

उनले वडा अधिवेशनमा सकेसम्म सबैलाई समेटेर समझदारीका साथ अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गर्दै वडा अधिवेशनपछि पालिका र त्यसपछि केन्द्रीय महाधिवेशन हुने उल्लेख गर्दै थापाले महाधिवेशनबाट पार्टीभित्र संरक्षण गर्नुपर्ने विषयलाई थप बलियो बनाउने बताए।