सिंगापुर एयरलाइन्स २०२६ को विश्वकै उत्कृष्ट एयरलाइन्स घोषित भएको छ।

बेलायतस्थित उड्डयन परामर्शदाता स्काईट्र्याक्सले शुक्रबार लन्डनमा आयोजना गरेको ‘वर्ल्ड एयरलाइन अवार्ड्स’मा सिंगापुर एयरलाइन्सले शीर्ष पुरस्कार जितेको हो। योसँगै सिंगापुर एयरलाइन्सले स्काईट्र्याक्स अवार्डको २५ वर्षे इतिहासमा छैटौं पटक विश्वकै उत्कृष्ट एयरलाइन्सको पुरस्कार जितेको छ।

सिंगापुर एयरलाइन्सले गत वर्षको विजेता कतार एयरवेजलाई पछि पार्दै शीर्ष स्थान पुनः प्राप्त गरेको हो। कतार एयरवेज दोस्रो, क्याथे प्यासिफिक एयरवेज तेस्रो, जापानको अल निप्पोन एयरवेज चौथो, टर्किस एयरलाइन्स पाँचौं र एमिरेट्स छैटौं स्थानमा परेका छन्।

सिंगापुर एयरलाइन्सले मुख्य पुरस्कारसँगै उत्कृष्ट इकोनोमी क्लास र इकोनोमी क्लास खानाका लागि पनि पुरस्कार जितेको छ। सिंगापुर एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत गोह चुन फोङले यो पुरस्कार आफ्ना कर्मचारीको समर्पण र व्यावसायिकताको प्रमाण भएको बताए।

स्काईट्र्याक्सले विश्वभरका यात्रुको सन्तुष्टिसम्बन्धी सर्वेक्षणका आधारमा विभिन्न विधामा पुरस्कार प्रदान गरेको हो। यस वर्षको शीर्ष २० सूचीमा एसियाली एयरलाइन्सको उल्लेख्य उपस्थिति रहेको छ।

एयर फ्रान्सले उत्कृष्ट फर्स्ट क्लास, इभा एयरले उत्कृष्ट प्रिमियम इकोनोमी र एयरएशियाले उत्कृष्ट बजेट एयरलाइन्सको पुरस्कार जितेका छन्। क्षेत्रगत रूपमा बैंकक एयरवेज एसियाको उत्कृष्ट एयरलाइन्स घोषित भएको छ भने इथियोपियन एयरलाइन्स अफ्रिका, ल्याटम दक्षिण अमेरिका, टर्किस एयरलाइन्स युरोप र एयर क्यानडा उत्तर अमेरिकाको उत्कृष्ट बनेका छन्।

स्काईट्र्याक्सका अनुसार यी हुन् २०२६ का विश्वका २० उत्कृष्ट एयरलाइन्स
१. सिंगापुर एयरलाइन्स
२. कतार एयरवेज
३. क्याथे प्यासिफिक एयरवेज
४. अल निप्पोन एयरवेज
५. टर्किस एयरलाइन्स
६. एमिरेट्स
७. एयर फ्रान्स
८. हाइनान एयरलाइन्स
९. जापान एयरलाइन्स
१०. कोरियन एयर
११. इभा एयर
१२. क्वान्टास एयरवेज
१३. स्टार्लक्स एयरलाइन्स
१४. लुफ्थान्सा
१५. साउदी अरेबियन एयरलाइन्स
१६. आइबेरिया
१७. एयर क्यानडा
१८. भर्जिन एटलान्टिक
१९. स्विस इन्टरनेशनल एयर लाइन्स
२०. थाई एयरवेज