अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो स्थानीय तह निर्वाचनपछि नौ वर्षको अवधिमा ६२ वटा स्थानीय कानुन निर्माण गरी लागू गरेको छ।

नगरपालिकाका अनुसार यस अवधिमा २१ ऐन, सात नियमावली, ३२ कार्यविधि र दुई वटा निर्देशिका निर्माण भएका हुन्। स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका विभिन्न विषयलाई व्यवस्थित गर्न आवश्यक कानुनी आधार तयार गर्ने उद्देश्यले ती कानुन निर्माण गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले स्थानीय आवश्यकता र नगरवासीको अपेक्षालाई सम्बोधन गर्नेगरी कानुन निर्माण गर्दै त्यसको कार्यान्वयनमा जोड दिइएको बताए।

‘स्थानीय आवश्यकता र नगरवासीको अपेक्षालाई सम्बोधन गर्नेगरी आवश्यक कानुन निर्माण गरेका छौँ’, उनले भने, ‘कानुनलाई व्यवहारमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने हाम्रो प्रयास हो।’

संविधानले संघ र प्रदेश कानुनसँग नबाझिने गरी स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र कानुनतर्जुमा र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय आवश्यकता र अधिकार क्षेत्रका विषयमा कानुन निर्माण गरेको जनाएको छ।

स्थानीय कानुन निर्माणसँगै नगरपालिकाले विवाद समाधानका लागि न्यायिक संयन्त्रलाई सक्रिय बनाएको छ। न्यायिक समितिमा आर्थिक वर्ष २०७९/८० देखि हालसम्म ५९० मुद्दा दर्ता भएकामा ४२२ वटा फर्छ्योट भएका छन्।

स्थानीयस्तरमा विवाद समाधान गर्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ। ती केन्द्रमा ८४ जना मेलमिलापकर्ता सूचीकृत रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार मेलमिलाप तथा न्यायिक सेवासम्बन्धी विषयमा बस्तीस्तरमा अभिमुखीकरण, कानुनी सचेतना कार्यक्रम तथा जिल्ला अदालतका न्यायाधीश र कर्मचारीसँग अन्तरक्रिया गरिएको छ।