चलचित्र निर्माता सन्तोष सेनले संगीतकार टंक बुढाथोकीलाई कलाकार अशोक दर्जीलाई सडकबाट उठाएर हिरो बनाएको विषयलाई बारम्बार उल्लेख नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सेनले अशोक दर्जी सडकमा आफ्नो कला प्रस्तुत गरेर जीविका चलाइरहेको अवस्थामा बुढाथोकीले उनको प्रतिभा पहिचान गरी साथ दिएको बताएका छन्। तर साथ दिएको विषयलाई जीवनभरको उपकार वा ऋणका रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ।
‘सडकबाट उठाएर हिरो बनाएँ भनेर त्यो बच्चालाई जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ?’ सेनले प्रश्न गरे।
सडकमा अशोक मात्रै नभइ अहिले पनि साँझको छाक टार्न पानी, फूल, कलम तथा विभिन्न वस्तु बेच्ने र आफ्नो कला प्रस्तुत गरेर जीविका चलाउने धेरै मानिस रहेको उल्लेख गर्दै उनीहरूले हात फैलाएका नभइ आफ्नो कर्म गरिरहेको सेनले बताए।
सेनले अशोकमा रहेको प्रतिभा पहिचान गरी बुढाथोकीले साथ दिएकोमा धन्यवाद दिनुपर्ने भए पनि त्यसलाई जीवनभर सुनाइरहने उपकारको कथासँग जोड्न नहुने बताएका छन्।
‘सडकमा अशोक मात्रै छैनन्, अहिले पनि साँझको छाक टार्न सडकमा हात फैलाउन बाध्य धेरै छन्… कोही पानी बेचिरहेका छन्, कोही फूल बेचिरहेका छन्, कोही कलम बेचिरहेका छन्.. उनीहरूले हात फैलाएका होइनन् आफ्नो कर्म गरिरहेका हुन्,’ उनले भनेका छन्, ‘अशोकले पनि सडकमा आफ्नो गलाको कला बेचेर कर्म गरिरहेका थिए। त्यही सडकमा तपाईंले अशोकभित्र केही देख्नुभयो उसलाई लिएर आउनुभयो उसको कला लाइ साथ दिनुभयो।’
अशोकको ‘मन बिनाको धन’ गीत सार्वजनिक भएपछि उनको पहिचान र व्यस्तता व्यापक रूपमा बढेको र त्यसअघि पनि बुढाथोकीका थुप्रै गीत तथा सिर्जना भए पनि उक्त गीतपछि आएको परिवर्तन फरक रहेको सेनले उल्लेख गरेका छन्।
‘तपाईंले सडकको एउटा मान्छेलाई उद्धार गर्नुभएको होइन, सडकमा एउटा यस्तो प्रतिभा देख्नुभयो जसलाई आफ्नो साथ र छत्रछायामा राखेर अगाडि लैजान सकिन्छ भन्ने देख्नुभयो,’ सेनले लेखेका छन्।
उनले अशोकलाई सडकबाट उठाएर हिरो बनाएको भन्ने भाष्य दोहोर्याइरहनुभन्दा उनको प्रतिभाबाटै चिनिन दिन आग्रह गरेका छन्।
सेनले सडक वा गल्लीमा हुनु तथा गरिब भएर आफ्नो कला बेचेर जीविका चलाउनु अपराध नभएको बताएका छन्। सक्नेले साथ र अवसर दिनुपर्ने तथा कसैलाई आफूभन्दा तलको महसुस हुने गरी बोल्न नहुने उनको भनाइ छ।
‘साथ दिनुभएको छ भने साथको सम्मान गर्नुस्, तर त्यो साथलाई जीवनभरको ऋण नबनाइदिनुस्,’ सेनले भनेका छन्।
उनले अशोक बुढाथोकीको छत्रछायामा आएको हुन सक्ने भए पनि उनको कला भने बुढाथोकीले दिएको नभइ सडकमा हुँदा पनि अशोककै आफ्नै प्रतिभा रहेको बताए।
‘मान्छेलाई उठाउनु ठूलो कुरा हो, तर उठाइसकेपछि उसलाई जिन्दगीभर “मैले उठाएको मान्छे” भनेर चिनाइरहनुचाहिँ ठूलो कुरा होइन,’ सेनले लेखेका छन्।

प्रतिक्रिया