कोप ३१ का प्रस्तावित अध्यक्ष मुरात कुरुमले भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। हिमाली मुलुक नेपालले जलवायु जोखिमले मानव जीवन, पूर्वाधार र विकासमा पार्ने प्रभावलाई प्रत्यक्ष रूपमा देखाएको उनले बताएका छन्।

बुधबार जेनेभास्थित विश्व मौसम संगठनको मुख्यालयमा आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै कुरुमले जलवायु जोखिमले अहिले विश्वभर मानिसको जीवन तथा जीविकोपार्जन, सहर र विकासका सम्भावनालाई प्रत्यक्ष रूपमा प्रभावित गरिरहेको बताए।

नेपालको हिमाली क्षेत्रमा केही साताअघि भएको विपद्लाई उल्लेख गर्दै उनले भने, “हामीले केही साताअघि नेपालमा यसको सबैभन्दा पीडादायी उदाहरण देख्यौँ। हिमालयमा हिमनदी भत्किँदा विनाशकारी बाढी आयो। पूरै समुदाय, सडक, पुल र ऊर्जा पूर्वाधार प्रभावित भए।”

नेपालको पछिल्लो आधिकारिक विपद् तथ्यांक उद्धृत गर्दै उनले उक्त विपद्मा १ हजार ३८६ जनाको मृत्यु भएको र ५ हजार १३० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताए।

‘यदि हामी जलवायु परिवर्तनका परिणाम बुझ्न चाहन्छौँ भने नेपाललाई हेरे मात्र पुग्छ,’ कुरुमले भने।

कुरुमको भनाइले भदौ १० मा रसुवामा आएको बाढीबाट भएको विपद्लाई जलवायु विज्ञान, मौसमको अवलोकन, पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको बढ्दो महत्वबारे भइरहेको विश्वव्यापी छलफलको केन्द्रमा ल्याएको छ।

कुरुमले कोप ३१ को तयारीका क्रममा जलवायु विज्ञान र त्यसको कार्यान्वयनबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ।

उनले विश्वको जलवायु प्रणाली झन् अस्थिर बन्दै गएको बताए। तापक्रमले नयाँ कीर्तिमान बनाइरहेको, खडेरीको जोखिम बढिरहेको, हिमनदी पग्लिरहेको तथा सन् २०२६ को अन्त्यतिर एल निनोको सम्भावना रहेकोबारे चेतावनी आइरहेको उनले उल्लेख गरे।

टर्कीले विश्व मौसम संगठनको ‘सबैका लागि पूर्वसूचना’ (अर्ली वार्निङ्स फर अल) पहललाई समर्थन गर्दै आएको र मौसम अवलोकन, राडार, भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा मौसम पूर्वानुमानका नमुना प्रणालीलाई एकीकृत गरी पूर्वसूचना प्रणाली विकास गरेको कुरुमले बताए।

टर्कीले अन्य देशसँग प्राविधिक ज्ञान आदानप्रदान गरिरहेको उल्लेख गर्दै उनले आगामी तीन वर्षसम्म हरेक वर्ष अति कम विकसित देशका ३० जना प्राविधिक जनशक्तिलाई तालिम दिने जानकारी दिए।

कुरुमका अनुसार कोप ३१ ले कार्यान्वयनमा विशेष जोड दिनेछ। यसअघिका जलवायु प्रतिबद्धतालाई ठोस कार्यमा रूपान्तरण गर्ने तथा वित्त, प्रविधि र क्षमता अभिवृद्धिसँग सम्बन्धित अवरोध हटाउने विषयमा सम्मेलनमा छलफल हुनेछ।

‘१.५ डिग्री सेल्सियसको लक्ष्य हाम्रो मार्गदर्शक हो,’ उनले भने। उनले हरितगृह ग्यास उत्सर्जन घटाउने कामलाई तीव्र बनाउन, अनुकूलन क्षमता बलियो बनाउन तथा जोखिममा रहेका समुदायलाई थप सहयोग गर्न आह्वान गरे।