त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको कृष्णभिर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका जिल्लाको इन्धन आपूर्ति सहज बनाउन वैकल्पिक मार्गको प्रयोग सुरु गरेको छ।
निगमले त्रिभुवन राजपथ हुँदै आज बिहीबार मात्रै विभिन्न ब्रान्डका २४ हजार ५०० ग्यास सिलिन्डर उपत्यकामा भित्र्याएको छ।
गत भदौ १४ गते राजमार्ग भासिएसँगै पेट्रोलियम ट्यांकर र ग्यास बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएको थियो। बजारमा अभाव हुन नदिन तराईका उद्योगहरूमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै ल्याउने व्यवस्था मिलाइएको र भोलिदेखि यो क्रम थप वृद्धि गरिने निगमले जनाएको छ। त्यस्तै, पेट्रोलियम पदार्थ पनि यही वैकल्पिक बाटोबाट भित्र्याइँदै छ।
काठमाडौंको आपूर्ति व्यवस्थासँगै निगमले भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धारमा खटिएका हेलिकप्टर र सवारीसाधनका लागि इन्धनको अभाव हुन दिएको छैन।
निगमका अनुसार उद्धारमा संलग्न हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हवाई इन्धनको ‘रिफ्युलिङ’ भइरहेको छ। भदौ १० गतेदेखि आजसम्म सेनाको समन्वयमा १ लाख २ हजार लिटर हवाई इन्धन उपलब्ध गराइसकिएको छ भने यो क्रम निरन्तर चलिरहेको छ।
स्थलमार्गबाट हुने उद्धार कार्यलाई सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयले बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूमा मागबमोजिम इन्धन पठाइरहेको छ।
हालसम्म ती क्षेत्रमा १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। निगमले सार्वजनिक बिदाका दिनमा समेत पम्पहरू खुला राखेर बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ।
यसैगरी, बाढीबाट विस्थापित भई विभिन्न सेल्टरमा आश्रय लिइरहेका नागरिकका लागि निगमले ग्यास उपलब्ध गराएको छ। नेपाल एल.पी. ग्यास उद्योग संघको समन्वयमा विस्थापितहरूका लागि १ हजार २५० थान ग्यास सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
जसमध्ये, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोट जिल्लाका बाढीपीडितका लागि तत्काल ५०० थान ग्यास सिलिन्डर पठाउने व्यवस्था मिलाइसकिएको निगमले स्पष्ट पारेको छ।

प्रतिक्रिया