भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मिनी एक्स्काभेटरहरू भेटिएका छन्। गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आवश्यक एक्स्काभेटर भेटिएको जानकारी दिएका हुन्।
उनले एक्स्काभेटर उपलब्ध गराउन सूचना, तत्परता र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेका छन्, ‘हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरूले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ। राज्यका हरेक नागरिक यसरी नै एक भएर लाग्ने हो भने जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ।’
यसअघि गुरुङले सुरुङभित्र फसेका नागरिकलाई नेपालमै उपलब्ध साधनस्रोतबाट तत्काल उद्धार गर्नुपर्ने भन्दै मिनी एक्स्काभेटर आवश्यक परेको बताएका थिए। उनले मेसिन उपलब्ध गराउन सक्ने वा त्यसबारे जानकारी भएका व्यक्तिलाई तत्काल सम्पर्क गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया