रसुवा बाढीपीडितका लागि इलामका स्थानीय तहले राहत सहयोग उपलब्ध गराउने भएका छन्। चुलाचुली गाउँपालिकाले करिब १५ लाख र माई नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

दुवै पालिकाले सूचना जारी गरी जनप्रतिनिधि र कर्मचारीको तलबबाट यो सहयोग संकलन गर्ने जनाएका छन्। चुलाचुलीको ७६औं कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य र अधिकृतस्तरका कर्मचारीको ५ दिनबराबरको सुविधा तथा पारिश्रमिक, शिक्षक, अधिकृतस्तरको ४ दिन, सहायकस्तर कर्मचारी, शिक्षक र कार्यालय सहयोगीको ३ दिन तथा ज्यालादारी कर्मचारीलगायतको २ दिनबराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ।

माई नगरले पनि जनप्रतिनिधि कर्मचारीबाटै संकलन गरी सहयोग गर्ने भएको छ। जनप्रतिनिधिको १५ दिनको सेवा-सुविधा तथा कर्मचारीको २ दिनको तलब उठाएर सहयोग गर्ने र अपुग रकम नगरको विपद् व्यवस्थापन कोषबाट खर्च गरिने भएको मेयर खम्बासिंह लिम्बूले जानकारी दिएका छन्। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ।

इलामका आठ जना सम्पर्कविहीन
रसुवाको बाढीपछि इलामका आठ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार तीर्थाटन र रोजगारीका लागि रसुवा क्षेत्र पुगेका व्यक्ति बाढीपछि सम्पर्कमा आउन सकेका छैनन्।

यसरी सम्पर्कविहीन हुनेमा देउमाई नगरपालिका ९ का बुद्धिसागर नेउपाने र उनकी पत्नी खिनमाया नेउपाने, माई नगरपालिका ६ का विनोद राई, माई नगरपालिका ७ का नरेन्द्रप्रसाद दाहाल, सन्दकपुर गाउँपालिका ३ का दिवानन्द (दीपक) सुवेदी, फाकफोकथुम ६ का लीला (लोकबहादुर) थापा, फाकफोकथुम ६ कै बिनु थेगिम र डिभिजन वन कार्यालयका वनरक्षक लक्ष्मणसिंह ऐर छन्। उनीहरूमध्ये विनोद राई सकुशल सम्पर्कमा आएको भनिएपनि पुष्टि हुन सकेको छैन।

प्रशासन कार्यालयले जिल्लाबाट बाढीप्रभावित क्षेत्रमा पुगेर कोही सम्पर्कविहीन रहेको भए जानकारी गराउन सूचनासमेत जारी गरेको छ। जिल्लाका माई, इलाम र देउमाई नगरपालिका, सन्दकपुर, फाकफोकथुम गाउँपालिकालगायतले पनि बाढीप्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका जिल्लाका नागरिकबारे जानकारी गराउन सूचना गरेका छन्।