एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ।

नेपालले घरेलु टोलीलाइ २७ रनले हराएको हो। नेपालले दिएको १७१ रनको सामन्य लक्ष्य पछ्याएको मलेसिया ४०.१ ओभरमा १४३ रनमै अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भएको थियो । नेपालका लागी रोहितकुमार पौडेलले ८६ बलमा ६१ रन बनाए। उनले ३ चौका र ३ छक्का प्रहार गरे। गुलशनकुमार झाले ६० बलमा ४५ रन जोड्दा सन्दीप लामिछानेले १३ र हेमन्त धामीले अविजित ९ रन बनाए।

मलेसियाका लागि अकिल वाहिदले १०८ बलमा ५६ तथा नज्मुस साकिबले ४८ बलमा ५१ रन बनाए। तर, नेपाली बलरले त्यसपछि लगातार विकेट लिए।

ललितनारायण राजवंशीले ३ विकेट लिए भने सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले समान २ विकेट लिए। हेमन्त धामीले १ विकेट हात पारे।

एसीसी प्रिमियर कपअघि नेपालका लागि यो जितले तयारीमा थप आत्मविश्वास दिएको छ।