रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै निजी हेलिकप्टर आफ्नै ढंगले सञ्चालन हुँदा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुन सक्ने भन्दै व्यवस्थित रूपमा उडान सञ्चालन गर्न आग्रह गरेको हो।
प्राधिकरणले हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी समन्वयात्मक रूपमा कार्य अघि बढाउन निर्देशन दिएको छ।
सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा जिल्ला सुरक्षा समितिले सम्बन्धित जिल्लामा रहेको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्नेछ। निजी हेलिकप्टर आवश्यक परेको अवस्थामा भने प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिसँग सम्पर्क गरी तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।
निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनाष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।
जथाभावी हेलिकप्टर उडान गर्दा हुनसक्ने सम्भावित दुर्घटना तथा अन्य प्राविधिक समस्यालाई मध्यनजर गर्दै उद्धार कार्यलाई सरकारी समन्वयमा व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया