रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ। दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा राहत पुर्‍याउन सेनाका पाँच हेलिकप्टर प्रयोग भइरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्‍याउन सेनाका ११ वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म ल्याइएको छ। त्रिशूलीबाट हेलिकप्टर प्रयोग गरी आवश्यकता भएका स्थानमा सामग्री पठाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ। हालसम्म चार सटल राहत सामग्री टिमुरे पुर्‍याइएको छ।

यसबीच बाढीमा फसेका तथा जोखिममा रहेका नागरिकको खोजीलाई पनि निरन्तरता दिइएको छ। बिहीबारसम्म हवाई र जमिन दुवै माध्यमबाट १७७ जनालाई सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

उद्धार गरिएकामध्ये ११४ जनालाई हेलिकप्टरबाट र ६३ जनालाई जमिनबाट उद्धार गरिएको हो। भदौ १० गते मात्रै हवाई माध्यमबाट ९७ जनाको उद्धार गरिएको थियो। बिहीबार बिहान मैलुङको टनेलबाट तीन जना र टिमुरेबाट १४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।

जोखिमयुक्त क्षेत्रमा ११ वटा टोलीले रातभर खोज तथा उद्धार अभियान सञ्चालन गरेका थिए। अहिले नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रमा दुई हजारभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ।

बाढीका कारण घाइते भएकाको उपचारका लागि त्रिशूलीमा थप मेडिकल टोलीसमेत परिचालन गरिएको छ। उद्धार, राहत वितरण र उपचारलाई एकसाथ अघि बढाउँदै प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ।